arrow

श्रमदानबाटै मर्मत भयो झोलुङ्गे पुल

logo
हाम्रा कुरा
प्रकाशित २०८३ साउन ११ सोमबार
jholunge-pool-mugu-marmat.jpg

मुगु। मुगुको सोरु गाउँपालिका-९ स्थित कालै-कुलाहा झोलुङ्गे पुल आठ वर्षदेखि जीर्ण अवस्थामा रहेर स्थानीयवासी जोखिमपूर्ण यात्रा गर्न बाध्य भइरहेका बेला स्थानियहरुको श्रमदानबाट पुनः मर्मत गरिएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मुगु र स्थानीयको श्रमदानमार्फत पुल मर्मत गरी पुनः सञ्चालनमा ल्याइएको हो ।

वि.सं. २०४४ सालमा निर्माण भएको उक्त पुल जीर्ण बन्दै गएपछि सोरु गाउँपालिकाको केन्द्र सोरुकोट आवतजावत गर्ने वडा नं. ९, १० र ११ का स्थानीय प्रत्यक्ष प्रभावित हुँदै आएका थिए ।

वडा नं. ६ र ७ का बासिन्दाले पनि घाँस, दाउरा तथा पशुचौपाया लैजान यही पुल प्रयोग गर्दै आएका थिए ।

यस्तै, तातोपानी र तातोपानी गुफा पुग्ने आन्तरिक तथा बाह्य पर्यटकसमेत यही पुल प्रयोग गर्न बाध्य थिए ।

स्थानीयवासीका अनुसार पुल मर्मतका लागि वडा, गाउँपालिका, प्रदेश र संघीय सरकारसमक्ष पटक-पटक आग्रह गरिए पनि कुनै निकायले चासो नदिएपछि वर्षौंदेखि जोखिम मोलेर आवतजावत गर्नुपर्ने अवस्था थियो ।

यसैबीच, रास्वपा मुगुले सोरु क्षेत्रमा अनुगमन तथा नागरिक भेटघाटका क्रममा पुलको अवस्था अत्यन्त जोखिमपूर्ण देखिएपछि तत्काल मर्मत गर्ने निर्णय गरेको थियो ।

जिल्ला भौगोलिक अनुगमन समिति तथा जनगुनासो केन्द्रका संयोजक नन्दबहादुर मल्लको जन्मदिनको अवसरलाई श्रमदान अभियानसँग जोड्दै पुल मर्मत गरिएको हो । मल्लले मर्मतका लागि आवश्यक नट-बोल्ट, किला, जाली र पातालगायत सामग्री उपलब्ध गराएका थिए ।

त्यसपछि पार्टीका नेता तथा कार्यकर्तासहित १५ जनाको टोलीले करिब १० घण्टा लगातार श्रमदान गरेर पुललाई पुनः सुरक्षित रूपमा सञ्चालनयोग्य बनाएको रास्वपाले जनाएको छ ।

रास्वपा मुगुका जिल्ला सभापति बिर्खबहादुर मल्लले नागरिकको दैनिक जीवनसँग जोडिएका समस्या समाधान गर्नु पार्टीको प्राथमिकता भएकाले श्रमदानमार्फत पुल मर्मत गरिएको बताए।

संयोजक नन्दबहादुर मल्लले ठूला आश्वासनभन्दा नागरिकका साना तर अत्यावश्यक समस्या समाधान गर्नु बढी प्रभावकारी हुने भएकाले सबैको सहमतिमा अभियान सञ्चालन गरिएको उल्लेख गरे ।

पुल सञ्चालनमा आएपछि स्थानीय राजेन्द्र दमाईले लामो समयदेखि सरकारी निकायले बेवास्ता गरेको पुल मर्मत भएपछि अब सुरक्षित रूपमा यात्रा गर्न सकिने भन्दै रास्वपा मुगुका टोलीप्रति आभार व्यक्त गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ