नागढुङ्गा सुरुङमार्गको सोमबार औपचारिक उद्घाटन हुँदै
हाम्रा कुरा
प्रकाशित २०८३ साउन १० आइतबार
336
Shares
काठमाडौँ । नेपालको पहिलो आधुनिक यातायात सुरुङमार्गका रूपमा निर्माण सम्पन्न भएको ‘नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग’ सोमबारबाट औपचारिक रूपमा उद्घाटन हुने भएको छ। जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को सहुलियतपूर्ण ऋण र नेपाल सरकारको संयुक्त लगानीमा निर्माण सम्पन्न यस आयोजनाको कुल लागत भेरिएसनसहित करिब १९ अर्ब रुपैयाँ पुगेको छ।
सडक विभागका महानिर्देशक डा. विजय जैसीका अनुसार जापानी निर्माण कम्पनी ‘हाज्मा आन्दो कर्पोरेसन’ ले वि.सं. २०७६ देखि निर्माण सुरु गरेको यस मुख्य सुरुङको लम्बाइ २.६८ किलोमिटर रहेको छ भने इभ्याकुएसन टनेल र क्रस–प्यासेजहरू समेत गणना गर्दा कुल सुरुङको लम्बाइ करिब ५.५ किलोमिटर पुग्छ। पूर्वाधार विकासमन्त्री सुनिल लम्साल र जाइकाका अध्यक्षले संयुक्त रूपमा उद्घाटन गर्ने तयारी रहेको यस आयोजनाले नागढुङ्गाको कठिन उकालो र पहिरोको जोखिमबाट जोगाई यात्रालाई सहज बनाउने विश्वास गरिएको छ।
उद्घाटनपश्चात सुरुङमार्गलाई चरणवद्ध रूपमा पूर्ण सञ्चालनमा ल्याइने विभागले जनाएको छ। प्रारम्भिक चरणमा तत्कालका लागि एम्बुलेन्स, दमकल र सुरक्षा निकायका आकस्मिक सबारी साधनलाई मात्र सुरुङमा प्रवेश दिइनेछ। उद्घाटनको एक साताभित्र सुरुङभित्र सम्भावित दुर्घटना वा आगलागी जस्ता विपद्को पूर्वतयारी स्वरूप ‘मक ड्रिल’ (नमूना अभ्यास) गरिनेछ भने उक्त अभ्यास सफल भएktan्र करिब एक हप्ताका लागि परीक्षणका रूपमा एकतर्फी (वान–लेन) सञ्चालन गरिनेछ।
सो अवधिमा जेट फ्यानहरूको अवस्था, वायु उत्सर्जन र गतिको प्राविधिक जाँच गरी करिव एक महिनाभित्र सुरुङमार्ग पूर्ण रूपमा सञ्चालनमा ल्याउने विभागको योजना छ। सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै यस सुरुङमार्गमा मोटरसाइकल र प्रज्वलनशील एवं विस्फोटक पदार्थ बोकेका सबारी साधनलाई भने पूर्ण रूपमा गुड्न निषेध गरिएको छ। विगतमा ‘बिल अफ क्वान्टिटी’ (बीओक्यु) मोडालिटीमा आधारित रही सडक विभाग आफैँले डिजाइन र सुपरीवेक्षणमा जापानी परामर्शदाताको सहयोग लिएर निर्माण गरिएको यस आयोजनाले नेपालको पूर्वाधार विकासमा नयाँ आत्मविश्वास थपेको महानिर्देशक जैसीले बताएका छन्।