सरकारको कार्यशैलीले लोकतन्त्रमाथि प्रहार भइरहेको नारायणकाजीको आरोप
हाम्रा कुरा
प्रकाशित २०८३ साउन ९ शनिबार
196
Shares
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले वर्तमान सरकारको कार्यशैलीले मुलुकको राष्ट्रियता, संविधान र लोकतन्त्रमाथि गम्भीर प्रहार गरिरहेको आरोप लगाएका छन्।
नरबहादुर कर्माचार्यको स्मृति दिवसका अवसरमा शनिबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेता श्रेष्ठले सरकारका पछिल्ला गतिविधिले नकारात्मक दिशा लिएको दाबी गरे। राष्ट्रिय सार्वभौमिकता र भौगोलिक अखण्डताको सवालमा सरकारले गम्भीर घात गरेको उल्लेख गर्दै उनले नेपालले भारतको भूमि मिचेको भनी संसदमा दिएका अभिव्यक्तिको रास्वपाका नेताहरूले समर्थन र पुष्टि गर्न खोजेकोप्रति कडा आपत्ति जनाए।
संविधान र लोकतन्त्रको रक्षाबारे बोल्दै नेता श्रेष्ठले वर्तमान सरकार संविधानले परिकल्पना गरेको ‘समाजवाद उन्मुख’ राज्य र अर्थतन्त्रप्रति प्रतिबद्ध नरहेको बताए। संविधान संशोधनको विषयमा लोकतन्त्रको मूल मर्मलाई केन्द्रमा राख्नुपर्नेमा जोड दिँदै उनले लोकतन्त्रको हत्या गर्नेगरी ल्याइने संशोधनको विरुद्धमा उभिनुपर्ने बताए।
सरकारले वाक् तथा संगठन स्वतन्त्रतामाथि अङ्कुश लगाउन खोजेको, शैक्षिक संस्थालाई दलीयकरण मुक्त गर्ने बहानामा विद्यार्थी संगठन र ट्रेड युनियनमाथि प्रतिबन्ध लगाउन खोजेको तथा एकातिर दलीयकरण मुक्त भन्दै अर्कोतिर आफ्ना मानिसलाई संवैधानिक र न्यायिक निकायमा नियुक्ति गर्ने दोहोरो चरित्र देखाएको उनको आरोप थियो।
सुकुम्बासी समस्याका सन्दर्भमा सरकारको कार्यशैली अत्यन्त अमानवीय रहेको टिप्पणी गर्दै नेता श्रेष्ठले डोजर र सुरक्षाकर्मीको प्रयोग गरी रातारात उठाइएका सुकुम्बासीहरूलाई होल्डिङ सेन्टरमा आधारभूत सुविधाबाट वञ्चित गरी अपमानजनक व्यवहार गरिएको बताए। श्रमजीवी र उत्पीडित वर्गमाथि अन्याय हुँदा कम्युनिष्ट पार्टी र तिनका भ्रातृ संगठनहरूले सशक्त प्रतिरोध गर्न नसक्नुमा वैचारिक र सांस्कृतिक स्खलन मुख्य कारण रहेको औँल्याउँदै उनले राष्ट्रिय स्वाधीनता र लोकतन्त्रमाथि आइलागेको संकट टार्न कम्युनिष्टहरूले आफूलाई सुधार गर्दै नेतृत्वदायी भूमिका खेल्नुपर्नेमा जोड दिए।