काठमाडौँ । नेपालस्थित गणतन्त्र कोरियाली दूतावास र भाटभटनी सुपर मार्केटको सहकार्यमा ‘डिस्कभर कोरिया २०२६’ कोरियाली उत्पादनहरू नेपालमा परिचय गराउने कार्यक्रम चलिरहेको छ । दुई हप्तासम्म आयोजना हुने कार्यक्रम गत बुधबारदेखि जारी रहेको हो ।
डिस्कभर कोरिया २०२६ मार्फत दक्षिण कोरियामा अधिक उपभोग हुने उत्पादनहरूको नेपालमा सहज पहुँच रहेको बारेमा जानकारी मिल्नेछ ।
उक्त कार्यक्रममार्फत नेपाली ग्राहकमाझ सामान खरिद गर्ने तथा स्वाद लिने अवसर मिलाइएको छ। भाट-भटेनी सुपरमार्केटका विभिन्न शाखाहरुमा दुई हप्तासम्म चल्नेछ र यो अभियानले काठमाडौँको केभाइब महोत्सव जस्ता कूटनीतिक र सांस्कृतिक कार्यक्रमको एक हिस्साको रुपमा कोरियाली जीवनशैली, खानपान तथा दुई देशबीचको समानतालाई नजिकबाट नियाल्न अवसर मिल्नेछ।
भाट-भटेनी सुपरमार्केट महाराजगञ्ज शाखामा डिस्कभर कोरिया प्रचार मेलामा कोरिया कर्नर लगायत अन्य पाँच कार्यक्रममा समावेश भएका ५ वटा शाखाबाट रु. १,००० भन्दा बढीको कोरियाली सामान खरिद गर्ने ग्राहकहरुलाई भाग्यशाली चिट्ठा, खाना र रामेनको स्वाद, फोटो जोन, र हानबोक ट्राइ-अन अनुभव लिन सकिने व्यवस्था मिलाइएको छ।
कोरियाली राजदूत पार्क थेयङले शनिबार महाराजगञ्जस्थित भाट-भटेनी सुपरमार्केटमा ‘डिस्कभर कोरिया २०२६’ को प्रचारात्मक कार्यक्रम र खानाको स्वाद लिने कार्यक्रममा भाग लिए ।
उक्त कार्यक्रम बिहान ११ बजेदेखि सार्वजनिक रुपमा प्रत्यक्ष खाना बनाउने कला प्रदर्शन र नोङशिम लगायत प्रमुख कोरियाली ब्रान्डहरूको प्रदर्शनी समावेश भएको थियो।
कार्यक्रम उद्घाटन मन्तव्यका क्रममा राजदूत पार्कले भाट-भटेनी सुपरमार्केटसँगको विशेष सहकार्य र नेपाली समुदाय माझ प्रामाणित कोरियाली उत्पादनहरू परिचय गराउने महत्वपूर्ण अवसर मिलेको उललेख गर्दै दुई दशबीच खाना, पोसाक, संस्कृती आदिको समानता रहेको धारणा राखेका थिए।