गुणस्तरहीन खाद्य पदार्थ उत्पादन तथा बिक्री गर्ने ६२ व्यवसायीविरुद्ध मुद्दा
हाम्रा कुरा
प्रकाशित २०८३ साउन ९ शनिबार
319
Shares
काठमाडौँ । गुणस्तरहीन खाद्य पदार्थ उत्पादन तथा बिक्री वितरण गरेको आरोपमा मधेस प्रदेशका ६२ जना उद्योगी–व्यवसायीविरुद्ध मुद्दा दायर गरिएको छ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले आर्थिक वर्ष २०८२/८३ मा सङ्कलन गरी परीक्षण गरिएका खाद्य नमुनाहरूमा कैफियत भेटिएपछि सम्बन्धित जिल्ला अदालत तथा जिल्ला प्रशासन कार्यालयमा खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम मुद्दा दायर गरेको हो।
कार्यालय प्रमुख विमलकुमार दाहालका अनुसार मुद्दा दायर गरिएकाहरूमा बारा र पर्साका ५१, महोत्तरीका ७, सर्लाही र रौतहटका ३ तथा धनुषाका १ उद्योगी–व्यवसायी रहेका छन्। यसबाहेक सप्तरी र सिरहाका ३ तथा धनुषाका २ गरी थप ५ जना व्यवसायीविरुद्ध पनि खाद्य स्वच्छता कायम नगरेको तथा मिसावट गरेको आरोपमा मुद्दा दर्ता गर्ने प्रक्रिया अघि बढाइएको छ।
अनुगमनका क्रममा स्वास्थ्यका लागि हानिकारक मिसावट गर्ने, म्याद गुज्रिएका खाद्य वस्तु बिक्री गर्ने तथा गुणस्तर मापदण्ड उल्लङ्घन गर्ने गरेकाले कानुनी कारबाही तीव्र पारिएको कार्यालयले जनाएको छ।