'बेटिङ एप’ बन्द गर्दै प्राधिकरण, जानकारी दिन आग्रह
हाम्रा कुरा
प्रकाशित २०८३ साउन ८ शुक्रबार
368
Shares
काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले अनलाइन सट्टेबाजी (बेटिङ) र अवैधानिक वित्तीय कारोबार हुने दुई लाखभन्दा बढी ‘वेबसाइट’ तथा ‘एप’ बन्द गरेको छ। सरकारले गत चैत १३ मा जारी गरेको शासकीय सुधारसम्बन्धी एक सय कार्यसूचीको ४२ औँ बुँदामा सट्टेबाजी एप र त्यससम्बन्धी वेबसाइट २४ घण्टाभित्र बन्द गर्ने व्यवस्था समेटिएको थियो।
सोही निर्णयअनुसार यसअघि पनि त्यस्ता वेबसाइट बन्द गरिएका थिए भने नयाँ नाममा खुल्ने क्रम जारी रहेपछि पछिल्लो पटक फिफा विश्वकप आयोजना भएयता फेरि २ लाख २३ हजार ५६८ वटा त्यस्ता एप तथा वेबसाइट बन्द गरिएको प्राधिकरणले जनाएको छ।
विश्वकपका बेला बेटिङ एपको प्रयोग बढ्न सक्ने भन्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले विशेष चासो देखाएपछि प्राधिकरणले छुट्टै कार्यदल गठन गरी कारबाही अगाडि बढाएको हो। कार्यदलका सदस्य तथा प्राधिकरणका सहायक निर्देशक एवं इन्जिनियर ओमप्रकाश महतोका अनुसार इन्टरनेट सेवा प्रदायक (आइएसपी) का प्रतिनिधिहरूलाई प्राधिकरणमै राखेर अवैधानिक वेबसाइट चल्ने युआरएलहरू ब्लक गरिएको छ।
एउटा बन्द गर्दा अर्को नयाँ नाममा खुल्ने चुनौती रहेकाले 'थ्रेड इन्टेलिजेन्स टुल' प्रयोग गरी 'हन्टिङ' गर्ने गरिएको र यसका लागि छुट्टै जनशक्ति समेत परिचालन गरिएको छ। प्राधिकरणले अवैधानिक वेबसाइटहरूबारे जानकारी भएमा [github.com/NTA-OPM]लिङ्कमा सोसम्बन्धी विवरण ‘अपडेट’ गराउन सकिने समेत अनुरोध गरेको छ।