कम्युनिष्टको कमजोरीका कारण देश दक्षिणपन्थीको हातमा पुगेको आरोप
हाम्रा कुरा
प्रकाशित २०८३ साउन ८ शुक्रबार
489
Shares
काठमाडौँ । खुला रूपमा वैदेशिक हस्तक्षेप बढेको र नेपालको राष्ट्रिय स्वाधीनता खतरामा परेको भन्दै देशका विभिन्न कम्युनिष्ट तथा वामपन्थी घटकहरूले त्यसको संयुक्त रूपमा प्रतिवाद गर्नुपर्नेमा जोड दिएका छन्। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संस्थापक महासचिव पुष्पलालको ४८ औँ स्मृति दिवसको सन्दर्भ पारेर राजधानीको संवाद डबलीमा ‘राष्ट्रिय क्रान्तिकारी मोर्चा नेपाल’द्वारा आयोजित एक विचार गोष्ठीमा वक्ताहरूले उक्त धारणा व्यक्त गरेका हुन्। कार्यक्रममा राष्ट्रिय स्वाधीनता, बढ्दो वैदेशिक हस्तक्षेप, समसामयिक राजनीतिक परिस्थिति र आर्थिक संकटलगायतका विषयमा विस्तृत चर्चा गरिएको थियो।
कार्यक्रममा सात घटकहरूको संयुक्त मोर्चाका संयोजक सन्तबहादुर नेपालीले विगतमा सत्तामा रहँदा कम्युनिष्टहरूको कमजोरीका कारण देश घोर दक्षिणपन्थीहरूको हातमा पुगेको आरोप लगाउँदै देशको स्वाधीनता जोगाउन सबै सच्चा कम्युनिष्ट क्रान्तिकारीहरू एकजुट हुनुपर्ने बताए। सो अवसरमा नेकपाका संयोजक लोकनारायण सुवेदीले ‘वैदेशिक हस्तक्षेप र राष्ट्रिय आत्मसमर्पणवादको विरुद्ध प्रतिरोध आन्दोलनको सवाल र कमरेड पुष्पलाल’ शीर्षकको कार्यपत्र प्रस्तुत गर्दै पुष्पलालको विचार र नीतिको सान्दर्भिकता अहिले झन् बढेको दाबी गरे।
विशिष्ट अतिथि तथा परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठले नेपालको परराष्ट्र नीति निर्माण र राष्ट्रिय स्वाधीनतामा पुष्पलालको विशिष्ट योगदान रहेको चर्चा गरे। उनले कालापानी, लिपुलेक र लिम्पियाधुरासमेत समेटेर संसद्ले पारित गरेको नेपालको राजनीतिक मानचित्रलाई कसैले हटाउन नसक्ने स्पष्ट पार्दै त्यसो गर्ने प्रयास गम्भीर राष्ट्रघात हुने चेतावनी दिए। त्यसैगरी, वरिष्ठ अर्थविद् डा. डिल्लीराज खनालले देशको अर्थतन्त्र साम्राज्यवादको अधीनतर्फ जाँदै गएको बताउँदै वर्तमान सरकारले कर आतंक मच्चाएर जनतालाई त्राहीत्राही पारेको आरोप लगाए।
कार्यक्रममा वरिष्ठ अधिवक्ता डा. दण्डपाणी पौडेल, क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका स्थायी समिति सदस्य रामसिंह श्रीश, पुष्पलाल अध्ययन समाजका अध्यक्ष लोककृष्ण भट्टराई, नेकपा (मार्कसवादी पुष्पलाल) का अध्यक्ष मानध्वज गुरुङ र नेकपाका सचिवालय सदस्य नारायण शर्मा लगायतले पुष्पलालका विचार, सिद्धान्त र किसानका मुद्दाहरूलाई आत्मसात गरेर मात्रै देशमा वास्तविक परिवर्तन सम्भव हुने विचार व्यक्त गरेका थिए।