रैथाने उत्पादन जोगाउन जीआई कानून ल्याउने उद्योगमन्त्री यादवको प्रतिबद्धता
हाम्रा कुरा
प्रकाशित २०८३ साउन ७ बिहिबार
152
Shares
काठमाडौँ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले नेपालको रैथाने तथा मौलिक उत्पादनको संरक्षण र प्रवद्र्धनका लागि भौगोलिक संकेत (जीआई) सम्बन्धी कानून ल्याउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
मन्त्री यादव र नेपालका लागि खाद्य तथा कृषि संगठन (एफएओ) का प्रतिनिधि केन सिमिजुबीच बिहीबार भएको शिष्टाचार भेटवार्तामा नेपालका विभिन्न भौगोलिक क्षेत्रमा उत्पादन हुने मौलिक तथा रैथाने वस्तुको ब्रान्डिङ, संरक्षण तथा अन्तर्राष्ट्रिय मान्यता सुनिश्चित गर्ने विषयमा छलफल भएको हो ।
भेटका क्रममा एफएओका प्रतिनिधि सिमिजुले विश्वका अधिकांश मुलुक तथा एसियाका झण्डै सबै राष्ट्रले जीआई प्रणाली कार्यान्वयन गरिसकेको भए पनि नेपालमा अझै कानूनी व्यवस्था नहुँदा नेपाली रैथाने उत्पादनहरू अन्तर्राष्ट्रिय रूपमा संरक्षणविहीन रहेको बताए ।
उनले जीआई दर्ताको अभावमा नेपाली मौलिक उत्पादनसँग सम्बन्धित ब्रान्ड अन्य देशले दर्ता गरिरहेको उल्लेख गर्दै यसबाट नेपालले प्रत्यक्ष आर्थिक तथा व्यावसायिक क्षति बेहोर्नुपरेको बताए। यस्तो अवस्था रोक्न सरकारले शीघ्र स्पष्ट कानूनी व्यवस्था गरी जीआई प्रणाली लागू गर्नुपर्नेमा उनले जोड दिए ।
जवाफमा मन्त्री यादवले नेपालको रैथाने उत्पादनको पहिचान, संरक्षण र बजार प्रवर्द्धनका लागि आवश्यक कानून निर्माणमा मन्त्रालय प्रतिबद्ध रहेको बताइन् ।
उनले यस विषयमा प्रारम्भिक पहल शुरू भइसकेको जानकारी दिँदै कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयसँग समन्वय गरी छिट्टै जीआईसम्बन्धी विधेयक तयार पारेर अघि बढाइने स्पष्ट पारिन् ।
जीआई प्रणाली लागू भएपछि इलामको अर्थोडक्स चिया, जुम्लाको मार्सी धान, पाल्पाको ढाका, भोजपुरको खुकुरीलगायत नेपालका मौलिक उत्पादनले अन्तर्राष्ट्रिय स्तरमा कानूनी संरक्षण र विशिष्ट पहिचान प्राप्त गर्ने अपेक्षा गरिएको छ ।