arrow

बर्डफ्लुको सङ्क्रमण नियन्त्रणमा

logo
हाम्रा कुरा
प्रकाशित २०८३ साउन ७ बिहिबार
bird-flu.jpg

काठमाडौँ । पन्छीमा देखिएको बर्डफ्लुको सङ्क्रमण हाल नियन्त्रणमा आउन थालेको छ। संघीय राजधानी काठमाडौँसहित विभिन्न स्थानमा सङ्क्रमण फैलँदा देशभरका कुखुरा तथा पन्छीपालन गर्ने किसानहरू ठूलो समस्यामा परेका थिए।

पशु सेवा विभागका अनुसार यही साउन १ गतेयता देशमा बर्डफ्लुको नयाँ सङ्क्रमण देखिएको छैन। पछिल्लो पटक काठमाडौँको गोकर्णेश्वर–१ सुन्दरीजलमा सङ्क्रमण भेटिएको थियो। विभागका महानिर्देशक डा. उमेश दाहालका अनुसार अहिले सङ्क्रमण पूर्ण रूपमा नियन्त्रित अवस्थामा रहेको छ र सङ्क्रमित क्षेत्रका वरपरबाट नमुनाहरू सङ्कलन गरी परीक्षण गर्ने कार्य निरन्तर भइरहेको छ।

गत चैत ४ गते केन्द्रीय पशु पन्छी रोग अन्वेषण प्रयोगशालामा पीसीआर विधिबाट गरिएको परीक्षणमा पहिलोपटक रोग पुष्टि भएको थियो। त्यसपछि चैत ६ गते कृषि तथा पशुपन्छी विकास मन्त्रालयले मोरङको उर्लाबारी–८ र सुन्दरहरैँचा–४ लाई बर्डफ्लु प्रभावित क्षेत्र घोषणा गरेको थियो। यसपटकको सङ्क्रमणबाट कमर्सियल लेयर्स कुखुराहरू बढी प्रभावित भएका थिए भने प्यारेन्ट, कमर्सियल ब्रोइलर, स्थानीय कुखुरा, हाँस, टर्की र कालिजमा समेत रोग देखिएको थियो। हालसम्म ११ वटा जिल्लामा बर्डफ्लुको सङ्क्रमण फैलिएको पाइएको छ।

काठमाडौँ उपत्यका बाहेकका सातवटा जिल्लामा रोग पूर्ण रूपमा नियन्त्रणमा आइसकेको छ। काठमाडौँ उपत्यका र काभ्रेपलाञ्चोक जिल्लामा मात्र कुल ११९ स्थानमा रोग पुष्टि भएको थियो, जसमध्ये उपत्यकामा मात्र ९२ स्थान (काठमाडौँमा ३२, ललितपुरमा १५ र भक्तपुरमा ४५) तथा काभ्रेमा २७ स्थानमा सङ्क्रमण फैलिएको थियो।

विभागका वरिष्ठ पशु चिकित्सक डा. मुकुल उपाध्यायका अनुसार रोग नियन्त्रणका क्रममा नेपालभर कुल ८ लाख ३५ हजार ५६३ वटा पन्छी, ११ लाख ६५ हजार ६६३ वटा अण्डा र २ लाख ४५ हजार ३५ किलो दाना नष्ट गरिएको छ। यसमध्ये काठमाडौँ उपत्यका र काभ्रेमा मात्र ३ लाख ६७ हजार ८३५ वटा पन्छी नष्ट गरिएका थिए।

सङ्कष्टमा परेका प्रभावित कृषकहरूलाई सरकारले तत्काल राहत रकम उपलब्ध गराएको छ। सरकारले रु ५० करोड बजेट रकमान्तर गरी रु ५२ करोड व्यवस्थापन गरेकोमा हालसम्म १०४ जना कृषक तथा फर्मको बैंक खातामा कुल रु ५० करोड ७१ लाख १५ हजार ७०४ राहत रकम निकासा गरिसकेको छ।

देशभर रहेका पन्छी रोग अन्वेषण प्रयोगशालाहरूले परीक्षण कार्यलाई तीव्र बनाएका छन्। सरकारको तदारुकता र किसानहरूको सहयोगका कारण बर्डफ्लु नियन्त्रणमा सफल भएको र अब थप सङ्क्रमण फैलने सम्भावना कम रहेको वरिष्ठ पशु चिकित्सक उपाध्यायले बताउनुभयो। सङ्क्रमण घटेसँगै बजारमा कुखुराको अण्डा र मासुको खपत बढ्न थालेको छ। यसले गर्दा लामो समयदेखि मूल्य घटेर तथा चल्ला बिक्री नभएर मारमा परेका किसानहरूले पुनः उचित मूल्य पाउन थालेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ