मीन विश्वकर्माले पढेर सुनाए देउवाले विदेशबाट पठाएको सन्देश
हाम्रा कुरा
प्रकाशित २०८३ साउन ६ बुधबार
300
Shares
काठमाडौँ । विदेशको गोप्य भूमिबाट कांग्रेस पूर्व सभापति शेरबहादुर देउवाले सन्देश पठाएका छन् । स्वास्थ्य उपचारमा भन्दै विदेशमा रहेका देउवाको उक्त सन्देश पार्टीको संस्थापनइतर समूहद्वारा आयोजित भेलामा नेता मीन विश्वकर्माले वाचन गरेका थिए।
बीपी कोइरालाको ४४औँ स्मृति दिवसका अवसरमा विदेशबाट पठाइएको सन्देशमा देउवाले प्रजातन्त्र, राष्ट्रियता र समाजवादको संरक्षणका लागि कांग्रेस सदैव दृढ रहने प्रतिबद्धता व्यक्त गरेका छन्। सन्देशमा देउवाले बीपी कोइरालाको मेलमिलापको नीति र जनताको सर्वोच्चताप्रतिको विश्वास आज पनि नेपाली राजनीतिको मुख्य मार्गदर्शक सिद्धान्त रहेको उल्लेख गरेका छन्।
बीपी कोइरालाको नेतृत्वबाट आफ्नो राजनीतिक यात्रा सुरु गरेको छ दशकभन्दा लामो अनुभव स्मरण गर्दै उनले लोकतान्त्रिक संस्कार र मूल्य–मान्यता नै आफ्नो राजनीतिको प्रेरणा स्रोत रहेको बताए। मुलुकको पछिल्लो राजनीतिक घटनाक्रमलाई नजिकबाट नियालिरहेको उल्लेख गर्दै देउवाले वर्तमान सरकारको कार्यशैलीप्रति गम्भीर प्रश्न उठाएका छन्।
फरक विचारप्रति असहिष्णु बन्ने, राज्य शक्तिको प्रतिशोधपूर्ण प्रयोग गर्ने र राजनीतिक पूर्वाग्रहका आधारमा प्रतिपक्षलाई दबाउने प्रवृत्ति लोकतान्त्रिक समाजका लागि स्वीकार्य नहुने उनको तर्क छ। न्यायपालिका र अख्तियार दुरुपयोग अनुसन्धान आयोगजस्ता संवैधानिक निकायहरूलाई कार्यकारी नियन्त्रणमा राखी प्रतिपक्षलाई आतङ्कित पार्ने औजारका रूपमा प्रयोग गर्न खोजिएको गम्भीर आरोप समेत उनले लगाएका छन्।
यस्तो चुनौतीपूर्ण घडीमा लोकतन्त्र, संविधान र राष्ट्रियताको रक्षा गर्ने ऐतिहासिक जिम्मेवारी फेरि एकपटक नेपाली कांग्रेसको काँधमा आएको उल्लेख गर्दै विगतका आठ दशकमा पार्टीले लोकतान्त्रिक आन्दोलनको नेतृत्व, शान्ति प्रक्रिया, संविधान निर्माण र प्राकृतिक विपत्तिका समयमा समेत जिम्मेवार भूमिका खेलेको स्मरण गराएका छन्।
देउवाको पत्र वाचन गर्दै विश्वकर्माले भने, ‘नेपालको प्रजातान्त्रिक आन्दोलनका महान नेता वीपी कोईरालाको नेतृत्वमा राजनीतिक यात्रा शुरू गर्ने अवसर पाउनु मेरो जीवनको सबैभन्दा ठूलो सौभाग्य हो । उहाँको विश्वास, जिम्मेवारी र लोकतान्त्रिक संस्कारले मेरो सम्पूर्ण राजनीतिक जीवनलाई मार्गनिर्देश गरेको छ । राष्ट्रियता, प्रजातन्त्र र समाजवादप्रति उहाँको अटल निष्ठा नै मेरो प्रेरणाको श्रोत रह्यो । यही प्रेरणाले मलाई विगत ६ दशकभन्दा बढी समय नेपाली कांग्रेसको साधारण कार्यकर्ता देखि नेतृत्वसम्म आइपुग्ने यात्रामा निरङ्कुशता, अधिनायकवाद र लोकतन्त्र विरोधी शक्तिविरुद्ध संघर्ष गर्न प्रेरित ग¥यो । नेपाली काँग्रेसले ८ दशकको गौरवपूर्ण यात्रामा लोकतान्त्रिक आन्दोलनको नेतृत्व मात्र होइन, शान्ति प्रक्रिया, संविधान निर्माण, पुनर्निर्माण र महामारीका चुनौतीबीच जनताको जीवन र लोकतान्त्रिक प्रणालीलाई सुदृढ बनाउने जिम्मेवारी पनि निर्वाह गरेको छ । यही अनुभवले वर्तमान चुनौती सामना गर्न हामीलाई अझ दृढ बनाएको छ । स्वास्थ्य उपचारका कारण विदेशमा रहे पनि मेरो मन सधैं देश, जनता र लोकतन्त्रमै केन्द्रित छ । आज असहिष्णुता, प्रतिशोधपूर्ण राजनीति, न्यायपालिका र संवैधानिक संस्थामाथि दबाब सिर्जना गर्ने प्रवृत्ति लोकतन्त्रका लागि अस्वीकार्य छ । यसको विरोध गर्नु नै नेपाली कांग्रेसको ऐतिहासिक दायित्व हो । प्रजातन्त्र जनताको सामूहिक आत्मनिर्णय हो । जनमत नै राष्ट्रको भविष्य निर्माण गर्ने सर्वोच्च शक्ति हो । त्यसैले लोकतन्त्रको रक्षा गर्नु भनेको राष्ट्रको रक्षा गर्नु हो । विगतमा जस्तै आज पनि काँग्रेसले लोकतन्त्र, संविधान, राष्ट्रियता र जनताको अधिकारको पक्षमा दृढतापूर्वक उभिनुपर्छ । वीपी कोईरालाको राष्ट्रिय मेलमिलाप नीति आज पनि मार्गदर्शक आदर्श हो । प्रजातन्त्र, राष्ट्रियता, समाजवाद, सामाजिक न्याय, समानता र समावेशिता कांग्रेसका प्राथमिकता हुन् । यही विश्वासका साथ म नेपाली जनताको लोकतान्त्रिक चेतना र न्यायप्रतिको आस्थामा फेरि एकपटक भरोसा दिलाउँदै बिदा हुन्छु ।’
बीपी कोइरालाले २०३३ सालमा अघि सार्नुभएको राष्ट्रिय मेलमिलापको नीति आजको सन्दर्भमा पनि उत्तिकै सान्दर्भिक र जीवित आदर्श रहेको उनको भनाइ छ। व्यक्तिगत सुरक्षाभन्दा राष्ट्र र लोकतन्त्रलाई माथि राखेर अघि बढ्नु नै बीपीप्रतिको सच्चा सम्मान हुने र नेपाली जनताको लोकतान्त्रिक चेतना तथा न्यायप्रतिको विश्वासले नै मुलुकलाई सही दिशामा डोर्याउने विश्वास उनले व्यक्त गरेका छन्।