लोकतन्त्रको मर्म नबुझ्नेहरू अहिलेको शासन सत्तामा छन् : पूर्वराष्ट्रपति यादव
हाम्रा कुरा
प्रकाशित २०८३ साउन ६ बुधबार
183
Shares
काठमाडौँ । पूर्वराष्ट्रपति डा. रामवरण यादवले लोकतन्त्रको मर्म नबुझ्ने व्यक्तिहरू अहिलेको शासन सत्तामा रहेको टिप्पणी गरेका छन्। बुधबार काठमाडौंमा आयोजित ‘चक्रप्रसाद बाँस्तोला बौद्धिकता र विद्रोह’ नामक पुस्तक विमोचन समारोहमा बोल्दै उनले अर्थमन्त्रीले संघीयता नराख्ने भन्दै अभिव्यक्ति दिने गरेकोमा गम्भीर आपत्ति जनाएका हुन्।
पूर्वराष्ट्रपति यादवले संघीयता खारेज गर्नुपर्ने खालका अभिव्यक्तिले देशलाई पुनः पछाडि धकेल्ने चेतावनी दिए। अन्तर्राष्ट्रिय निकायमा काम गरेका र देशको आर्थिक–सामाजिक रूपान्तरण गर्ने अपेक्षा गरिएका विद्वान व्यक्तिहरूबाटै यस प्रकारका संघीयता विरोधी धारणा आउनु दुर्भाग्यपूर्ण रहेको उनको भनाइ छ। लोकतन्त्रको मर्म र संविधानको भावना राम्ररी नबुझ्नेहरूले वर्तमान व्यवस्थालाई कमजोर बनाउन खोजेको आरोप समेत उनले लगाएका छन्।
उनले भने, “मलाई लागेको के हो भने अहिलेको शासन व्यवस्थामा लोकतन्त्रको मर्म नबुझ्ने मानिसहरू छन्। संविधानको कुरा होस् वा नहोस्, अर्थमन्त्रीले संघीयता खत्तम गर् भनेर बोल्छन्। यसले फेरि प्यान्डोरा बक्स खोलेर राणाकालीन सोच फर्काउने, देशलाई बर्बाद गर्ने खतरा देखिन्छ। हामीले विद्वान भनेर विश्वास गरेका व्यक्तिहरू, युएनडीपीमा काम गरेका, ठूलो शिक्षा हासिल गरेका भनेर प्याराडाइम सिफ्ट गर्ने अपेक्षा गरेका मानिसहरू नै संघीयता खत्तम गर्ने कुरा गर्छन् भने त्यो देशका लागि गम्भीर समस्या हो। संघीयतासँगै धेरै कुरा जोडिएका छन्, त्यसैले यसलाई हल्का रूपमा लिन मिल्दैन।”
संघीयतासँग मुलुकका धेरै पक्षहरू जोडिएको स्मरण गराउँदै पूर्वराष्ट्रपति यादवले लामो सङ्घर्षबाट प्राप्त उपलब्धिहरूको संरक्षण र रक्षा गर्दै अगाडि बढ्नुको विकल्प नरहेको स्पष्ट पारेका छन्।