प्रधानमन्त्रीलाई दम्भ र अहङ्कार त्याग्न सिटौलाको चेतावनी
हाम्रा कुरा
प्रकाशित २०८३ साउन ६ बुधबार
269
Shares
काठमाडौँ । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले प्रधानमन्त्री वालेन्द्र साहलाई अहंकार र दम्भको राजनीति त्याग्न कडा चेतावनी दिएका छन्।
वीपी कोइराला स्मृति दिवसको अवसरमा बुधबार काठमाडौंमा पार्टीको संस्थापनइतर समूहद्वारा आयोजित भेलालाई सम्बोधन गर्दै नेता सिटौलाले कसैले पनि एक्लै हिँड्ने दम्भ राख्न नहुने बताए। उनले भने, ‘वीपीलाई साक्षी राखेर प्रधानमन्त्रीलाई भन्न चाहन्छु, धेरै दम्भ र अहंकार लिएर नहिँड्नुस्। एक्लै हिँड्ने दम्भ गर्नुभयो भने ठक्कर लाग्ला, र ठक्कर लागेपछि उठाउने कोही हुँदैन। त्यस्तै पर्दा उठाउन फेरि हामी नै आउनुपर्ला।’
आफ्नो पार्टी कार्यालय तथा नेताहरूमाथि भएको आक्रमणतर्फ इङ्गित गर्दै नेता सिटौलाले जेन–जी आन्दोलनका क्रममा कांग्रेसमाथि आगजनी, तोडफोड र लुटपाट मच्चाइए पनि त्यसले पार्टीलाई कमजोर नभई झन् ऊर्जावान् र सचेत बनाएको बताए। विशेष महाधिवेशनको नाममा बाह्य तथा आन्तरिक शक्तिहरू मिलेर कांग्रेसलाई छिन्नभिन्न गराउन खोजेको आरोप लगाउँदै उनले पार्टीभित्र एकताको आवश्यकतामा जोड दिए। गत वर्षको भदौ २४ गतेको घटनाको रापताप अझै ननभएको उल्लेख गर्दै उनले मुलुकमा फेरि एकपटक नयाँ राजनीतिक जागरणको आवश्यकता औँल्याए।
साथै, पार्टीलाई एकताबद्ध हुन नदिन संस्थापन पक्षबाटै विभिन्न चलखेल भइरहेको समेत उनले आरोप लगाएका छन्।