कुनै पनि विमति हुन सक्दैन, नेपाली कांग्रेसका संस्थापक नेता महामानव बीपी कोइराला कांग्रेसका मात्र नभएर समग्र लोकतान्त्रिक आन्दोलनका शिखर पुरुष थिए र रहनेछन्। उनी यथास्थितिवादी राजनीतिका एक यथास्थितिवादी नेता थिएनन, बरु देश, काल, परिस्थिति र अन्तर्राष्ट्रिय परिवेशअनुसार आफूलाई परिमार्जित गर्ने एक युगान्तकारी व्यक्तित्व थिए। सोसलिस्ट इन्टरनेशनलसमेतलाई वैचारिक नेतृत्व प्रदान गर्ने हैसियत राख्ने बीपी विचार र दर्शनका आधारमा विद्यमान राजनीतिलाई गति दिनसक्ने तथा समयानुकुल मोडेर तार्किक निष्कर्षमा पुर्याउन सक्ने राजनेता थिए।
समकालीन विश्व राजनीतिमा उनी यति प्रभावशाली मानिन्थे कि कुनै अमुक विषयमा बीपीको विचार के हुने भन्ने कुरा अन्तर्राष्ट्रिय जगतका लागि चासोको विषय हुने गर्दथ्यो । अद्भूत क्षमता र व्यवहार कुशलताका धनी बीपी अन्तर्राष्ट्रिय स्तरको राजनेताका रुपमा सुपरिचित हुन सके । निश्चय पनि नेपाल र नेपालीका लागि यो गौरवको विषय हो। आज उनै महामानवको ४४औं स्मृति दिवस हो । यो आलेखमार्फत केही कुरा उनकै सन्दर्भमा यहाँ चर्चा गर्ने प्रयत्न गरिएको छ ।
नेपालको राजनीतिमा बीपी कोइराला एउटा युगद्रष्टा व्यक्तित्व प्रमाणित भएका छन् भनेर भनियो भने अतिशयोक्ति हुने छैन। उनले उन्नत र समृद्ध मुलुकको सपना देख्नेमात्र होइन, त्यसलाई कार्यान्वयन गर्ने परिकल्पनासहितको योजनाको खाका पनि बनाएका थिए । झण्डै १८ महिने उनको प्रधानमन्त्रीत्वकाल प्रजातान्त्रिक अभ्यासका लागि स्वर्णकाल मानिन्छ। यो अवधि देशको आधुनिकीकरण अनि विकासको दिशामा एउटा प्रस्थानबिन्दु मात्रै थिएन,बरु त्यो प्रस्ट दृष्टिकोण र दूरदृष्टिपूर्ण राजनीतिको एउटा शुरूआत पनि थियो भन्दा अस्वभाविक हुँदैन। विश्व समाजवादी आन्दोलनका एक प्रखर नेता बीपीको नेतृत्वमा नेपालमा समाजवादको मौलिकीकरणको गर्भरचना हुन सकेको थियो र देशको एउटा भविष्यरेखा कोरिएको थियो । आज नेपालको विकासको खाका बीपीकै चिन्तनमा आधारित छ भन्दा असङ्गत ठहर्दैन् ।
आज देशमा ‘समावेशीकरण’को निकै चर्चा हुने गरेको छ। आज देशको प्रधानमन्त्री नै मधेसी समुदाय अर्थात समावेशीकरण समूहबाट हुने अवस्थाको सिर्जना भएको छ । यो अलग कुरा हो, समावेशी समूहबाट प्रधानमन्त्री बन्ने बीपीको पार्टी नेपाली काँग्रेस स्वयंले भने प्राप्त गर्न सकेन तर, देशमा समावेशीको अवधारणाले सार्थक अर्थ प्राप्त गर्न सकेको भने बीपीकै कारणले हो भन्दा गलत नठहरिएला । उनले जनताकेन्द्रित राजनीतिका आधारमा नेपाली समाज र भूगोललाई जोड्ने कालजयी प्रयास गरेका थिए । राजनीतिलाई नयाँ अर्थ प्रदान गर्ने सन्दर्भमा वहिष्करणमा परेका जात, समुदाय र भुगोललाई राज्यको मूलधारमा प्रवाहीकरण गर्ने अवधारणा कार्यान्वयनको प्रयास उनैले थालेका हुन् ।
आज समावेशीका नाममा राजनीति गर्नेले बुझ्नु जरुरी छ, बीपीले उतिबेलै समावेशी सिद्धान्तको प्रतिपादन मात्र होइन कार्यान्वयन नै गरेका थिए र राष्ट्र निर्माणको प्रक्रियालाई सही दिशामा डोर्याउने प्रयत्न गरेका थिए। आज समावेशीकरणको कुरा जति भएको छ, त्यसको आधार बीपीले २०१५ सालमै खडा गरेका हुन भनेर भन्नु असंगत हुँदैन। उनको मन्त्रिमण्डल र उनको प्रधानमन्त्रित्वकालमा भएका विभिन्न नियुक्तिहरू हेर्दा देशको सबै भूगोल, जातजाति, वर्ग समुदायको प्रतिनिधित्व भएको पाइन्छ। बीपीले समावेशीकरणसम्बन्धी अवधारणा कार्यान्वयनलाई सामाजिक न्याय स्थापनाको मार्गमा एक औजारका रुपमा प्रयोग गर्ने प्रयत्न गरेका थिए। उनीपछिका दिनमा यो अवधारणाको कार्यान्वयनले निरन्तरता प्राप्त गर्न सकेन। कतिसम्म भने उनकै पार्टीले पनि उनको अवधारणालाई महत्व दिएन, नेपाली कांग्रेस समाजवेशीकरणको अभियानबाट निकै टाढियो। अलिअलि भएको देखिए पनि ती नेताको निकटस्थको आरोपबाट मुक्त हुन सकेनन्। फलतः समावेशी अवधारणाका आधारमा लामो समयसम्म देशको कार्यकारी प्रमुख बन्न सक्ने अवस्थाको निर्माण हुन सकेन, यसका लागि निकै कुर्नुपर्यो ।
बीपी चिन्तनको विश्लेषणका आधारमा भन्न सकिन्छ, उनको आधारभूत मानवीय मूल्य भनेको समानतामा आधारित सिद्धान्त थियो । यो अवस्था प्रजातान्त्रिक पद्धति र समाजवादबाट हासिल हुन्छ भन्ने कुरामा उनी दृढ विश्वस्त थिए । कुनै दुईमत छैन, बीपीको यही दृढता नै आजको नेपाली राजनीतिको मार्गदर्शनको सिद्धान्त हो। त्यो बेला नेपाली कांग्रेसले अख्तियार गरेका धेरै नीतिहरू कांग्रेसको गर्भसिद्धान्त अर्थात समाजवादी दर्शनका बिम्ब हुन्।
राजनीतिक दृिष्टकोण र बदलिँदो विश्व राजनीतिका कारण राष्ट्रनिर्माणका लागि राष्ट्रिय एकताको आवश्यकता जहिले पनि पर्दछ । यही राष्ट्रिय एकताको निर्माण र प्रवद्र्धनका दिशामा समावेशी अवधारणा एक महत्वपूर्ण संयन्त्र हुन सक्छ भन्ने उनको स्पष्ट बुझाइ थियो। उनको विश्वास थियो, सामूहिक अभियानले नेपाली जनताको भावनात्मक एकताको संस्थागत आधार तयार पार्छ। समावेशी र वहुलवादी अवधारणा, सामूहिक भावनाको विकास गर्ने यस्तै संयन्त्र हुन भन्ने कुरामा शंका छैन ।
बीपीको सरकारले अंगिकार गरेको समाजवादी आर्थिक नीति, रणनीति र कार्ययोजनाको विम्बात्मक तरिकाले विश्लेषण गरिएका खण्डमा उनले सामूहिक र समावेशी नीतिका आधारमा नै देशको विकासलाई गति दिन चाहेको देखिन्छ । यतिमात्र होइन उनले कोरेको विकासको खाका पनि समावेशीमैत्री रहेको स्पष्ट छ। उनले मधेसमा हुलाकी सडक र पहाड हिमालमा पहाडी मार्ग उत्तर दक्षिण सडक निर्माणमा जोड दिए । यसको अर्थ स्पष्ट थियो-बढीभन्दा बढी जनतालाई एकापसमा जोडिने अवसरको सिर्जना गरिनुपर्छ। नेपालका भूगोलहरू सहज ढंगले जोडिनुपर्छ। अल्पसंख्यक पनि देशका गहना हुन उनीहरुलाई पनि चम्किने अवसर प्राप्त हुनुपर्छ ।
आज प्रश्न उठ्न सक्छ, के बीपीको नीति आजको अवस्थामा सान्दर्भिक छ ? हो, नेपालमा उदारवादी राजनीतिको प्रणेता मानिने बीपी र नेपाली कांग्रेसको नीति आज पनि सान्दर्भिक छ। नेपाललगायत विश्वमा कट्टरपन्थले स्थान ओगटिरहेको अवस्थामा बीपीले अंगिकार गरेको नीतिको औचित्य छ? हो, छ। देश आज सङ्घीयतामा गएको छ। नयाँ संविधान संशोधनका सन्दर्भमा बहसपत्र निर्माणको अवस्था छ। हिजोका भन्दा फरक राजनीतिक अवस्था छ। राजनीतिमा नयाँ पात्र र विचारको उदय भएको छ। भूराजनीतिक अवस्था संवेदनशील छ। यस्तो अवस्थामा सायद नेपालको राजनीति र समग्र अवस्था हिजोको भन्दा जटिल छ ।
यस्तोमा उनले देखाएको बाटोको सान्दर्भिकता अझ बढेर गएको कुरामा दुई मत हुन सक्दैन। कुनै पनि देशको विकास प्रक्रियाको विश्लेषण गरिएका खण्डमा एउटा कुराको उपस्थिति समानरूपमा पाउन सकिन्छ, त्यो के भने त्यहाँका जनताले जबसम्म प्रक्रियामा स्वामित्व ग्रहण गर्दैनन् तबसम्म विकास सम्भव हुन सक्दैन र विकास प्रक्रियाप्रतिको स्वामित्व ग्रहण त्यसबेलासम्म हुन सक्दैन जबसम्म प्रक्रियामा सबैले आफू सहभागी भएको बोध गर्दैनन्। यो भावनाको विकास समावेशीकरणको अवधारणा कार्यान्वयनबाट मात्र हुन सक्छ भन्ने कुरा बीपीले बुझेका थिए। दुर्भाग्यवश उनले आफूले थालनी गरेका कार्यक्रम, योजना र नीतिहरूको कार्यान्वयन गर्न लामो समय पाउन सकेनन्। केही वर्ष उनले आफ्नो सोचअनुसार काम गर्न पाएको भए नेपालले पनि विश्वका बाँकी विकसित राष्ट्रले जस्तै विकासको गति समात्न सक्ने थियो ।
अन्त्यमा, नेपाली राजनीति षडयन्त्रको शिकार भयो, मुलुकले लामो समयसम्म सही बाटो पहिल्याउन सकेन। यसबीचमा नेपालले एकदलीय निरङ्कुशता, सशस्त्र द्वन्द्व, राजनीतिक अस्थिरता भोग्नुपर्यो। अहिले मुलुकमा लोकतन्त्र छ। नयाँ परिवेश छ । नयाँ नेतृत्व छ । गत भदौको जेनजी आन्दोलनपछि देश नयाँ ढंगले कोल्टे फेर्ने प्रयत्नमा छ। यस अवस्थामा बीपीका विचारहरू अझै सान्दर्भिक बन्न पुगेका छन्। अहिले सत्तामा रहेको दलले बीपीको विचारलाई नै आत्मसात गरेर आफ्नो निर्देशकीय सिद्धान्त तय गरेको स्पष्ट छ। आशा गरौँ बीपीको कालजयी विचारको इमानदारीपूर्वक अनुरशरण गरेर देश विकासलाई गति प्रदान गर्न सकिने वातावरणको निर्माण हुन सके यही नै बीपीप्रति सच्चा श्रद्धाञ्जली हुनेछ ।
(लेखक राष्ट्रिय समाचार समिति र नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष हुन्।)