arrow

जलवायु परिवर्तनको विषयलाई विकासको मुख्य एजेण्डा बनाउनुपर्छ : सभापति थापा

logo
हाम्रा कुरा
प्रकाशित २०८३ साउन ६ बुधबार
gagan-thapa-06.jpg

काठमाडौँ। नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले जलवायु परिवर्तनको विषयलाई मुलुकको विकासको मुख्य एजेण्डा बनाउनुपर्नेमा जोड दिएका छन्।

विश्वेश्वरप्रसाद (बीपी) कोइरालाको स्मृति दिवसको अवसरमा बुधबार ललितपुरमा आयोजित ‘जलवायु परिवर्तन र बीपीको विचार’ विषयक छलफल कार्यक्रममा बोल्दै उनले यस्तो धारणा व्यक्त गरेका हुन्। सभापति थापाले बीपी कोइरालाले तत्कालीन समयमा ‘समावेशी’ वा ‘जलवायु परिवर्तन’ जस्ता शब्दावलीहरू प्रयोग नगरे पनि व्यवहारतः त्यसको सफल अभ्यास र दूरदर्शी सोच राखेको स्मरण गरे। दक्षिण एसियामै पहिलोपटक आफ्नै मन्त्रिमण्डलमा महिला सहभागिता गराउने र दलित समुदायका प्रतिनिधिहरूलाई नेतृत्वमा ल्याएर बीपीले समावेशी लोकतन्त्रको बलियो नीव बसाएको उनले बताए।

विकासको अवधारणाबारे चर्चा गर्दै सभापति थापाले सामाजिक न्याय, मानव कल्याण, लोककल्याण र नैतिक जिम्मेवारीलाई छोडेर गरिने विकासको कुनै अर्थ नहुने उल्लेख गरे। बीपी कोइरालाले धेरै वर्षअघि नै वनको राष्ट्रियकरण र प्राकृतिक स्रोतमाथि न्यायपूर्ण पहुँचको विषय उठाइसकेको बताउँदै उनले ती दूरदर्शी विचारहरूलाई वर्तमान समयमा पनि आत्मसात गर्नुपर्नेमा जोड दिए।

पार्टीको आगामी कार्यदिशाबारे प्रष्ट पार्दै उनले आजको नेपाली काँग्रेस भविष्यप्रति पूर्ण रूपमा आशावादी रहेको तर भविष्यको सहि मार्ग कोर्न इतिहास र अग्रजहरूका विचारबाट सिकाइ लिनुपर्ने आवश्यकता औँल्याए। अग्रजहरूले देखाएको बाटोलाई आधार मानेरै जलवायु परिवर्तनको मुद्दालाई नेपालको विकासको मूल प्रवाहमा जोड्न पार्टी प्रतिबद्ध रहेको बताउँदै सभापति थापाले कार्यक्रममा प्राप्त सुझाव र ज्ञानलाई पार्टीले नीतिगत तहमा प्रभावकारी ढङ्गले उपयोग गर्ने प्रतिबद्धता जनाए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ