काठमाडौँ । देशकै सबैभन्दा पुरानो अस्पताल वीर अस्पतालमा भ्रष्टाचारको आतंक भइरहेको वर्षौँ भए पनि अहिलेसम्म निदान हुन सकेको छैन ।
प्रवृत्ति उही छ । ब्यक्तिमात्र फरक छन् । यसपालि सोझी निमित्त निर्देशकलाई दबाबमा राखेर स्वास्थ्य क्षेत्रमा मेडिकल माफियासँगको मिलेमतोमा अवैध सम्पत्ति आर्जन तथा गैरकानूनी लगानी गरेको भन्दै डा दिपककुमार मिश्रविरुद्ध प्रधानमन्त्री कार्यालयदेखि अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्मसमेत उजुरी परेको छ ।
डा मिश्रमाथि सम्पत्ति शुद्धीकरण, गैरकानूनी रकम आर्जन तथा लगानी छानबिन गर्न अस्पताल सुधार जेन-जी अभियानले प्रधानमन्त्री कार्यालय ,स्वास्थ्य मन्त्री, स्वास्थ्य सचिव, अख्तियार, राष्ट्रिय सर्तकता केन्द्र र सम्पत्ति शुद्धीकरण विभागमा छानबिन तथा कारबाही गर्न माग गर्दै उजुरी दर्ता गरेको जनाएको हो ।
त्यो उजुरीको अहिलेसम्म सुनुवाइ नभएको अभियानले बताएको छ । अभियानले अस्पतालमा अधिकारै नभइ खरिद, लेखा, प्रशासन र स्टोरमा हस्तक्षेप गरी बिचौलीको भूमिकामा रही अस्पताल सम्बन्धी ब्यापारीसँग करोडौं रकम असुली गरिरहेको भन्दै प्रधानमन्त्री वालेन्द्र साह बालेनदेखि अखितियारलाई गुहारेको हो ।
वीरका नवौँ तहका मुटुरोग विशेषज्ञ मिश्रले उनको भनाइ नमान्नेलाई दुःख दिएको दाबी गरिएको छ । आफूले भनेको नमानेपछि खरिद र स्टोरका कर्मचारीलाई आफू अनुकूल कागजात नबनाइदिएको भन्दै मन्त्रालयको पहुँचबाट जिल्लामा खटाएका छन् । एक जनालाई कास्की र अर्कालाई चितवनमा सरुवा गरेको अस्पताल सुधार जेन-जी अभियानले बताएको छ ।
अभियानले डा मिश्रले आफ्नो तथा श्रीमतीको नाममा स्वार्थ बाझिने गैरकानूनी स्वास्थ्य संस्था स्थापना, सन्ञालन, सन्चालक, शेयरधनी साथै श्रीमती नताशा मिश्रका नाममा समेत कम्पनी दर्ता तथा सन्चालन गरेको आरोप लगाएको छ ।
साथै अस्पतालमा समेत कार्यविचलन भई अनधिकृत रूपमा विभित्र शाखामा आफू पुलिस र प्रशासनसँग राम्रो पहुच छ भन्दै धम्काउदै एकलौटी रकम उठाइरहेको आरोप छ ।
उनलाई कमिशन बुझाउने व्यापारीलाई मात्रै पर्चेज अर्डर (खरिद आदेश) दिन दबाव दिएको र भुक्तानी गर्दा पनि आफूले बिचौली गरेको मात्रै भुक्तानी दिन लेखा शाखामा अनुचित दबाव दिएको आरोप छ ।
भुक्तानी रकमको १२ देखि १३ प्रतिशत कमिशन लिने गरेको दाबीसहित उजुरी हालिएको हो ।