arrow

आक्रमणसँगै युद्धविरामको प्रस्ताव पनि

logo
हाम्रा कुरा
प्रकाशित २०८३ साउन ५ मंगलबार
usa-flag-iran-flag-may-2026.jpeg

काठमाडौँ । इरान र अमेरिकाबीच निरन्तर प्रतिशोधपूर्ण हमलाहरू भइरहेको वर्तमान अवस्थामा इरानले मध्यस्थकर्ताहरूबाट युद्धविरामका लागि कुटनीतिक प्रस्तावहरू प्राप्त भएको पुष्टि गरेको छ।

तेहरानमा आयोजित साप्ताहिक पत्रकार सम्मेलनमा विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाइले कतारतर्फबाट अमेरिका–इरान वार्ता पुनः सुचारु गर्न र १० दिनको युद्धविरामसम्बन्धी प्रस्ताव आएको भन्ने रिपोर्टबारे सोधिएको प्रश्नमा विस्तृत विवरण नदिए पनि मध्यस्थकर्ताहरूमार्फत युद्धविरामका प्रस्तावहरू आएको स्वीकार गर्नुभएको हो।

प्रवक्ता बाघाइले अमेरिकाको सैन्य हमलाको कूटनीतिक र सैन्य दुवै माध्यमबाट प्रतिवाद भइरहेको बताउँदै हालै अमेरिकाले नागरिक पूर्वाधारहरू जस्तै पुल र चिकित्सा केन्द्रहरूमाथि गरेको आक्रमणको कडा शब्दमा निन्दा गर्नुभएको छ। उहाँले यस प्रकारका हमलाहरूलाई ‘जनताको जीवन, सुरक्षा र मानवीय सम्मानको अधिकार’ को गम्भीर उल्लङ्घनको संज्ञा दिनुभएको छ।

गत जुन १८ मा वाशिङ्टनसँग भएको शान्ति समझदारीबारे बोल्दै उहाँले सम्झौताको पाठ पूर्ण रूपमा स्पष्ट रहेको र वाशिङ्टनसँग आफ्ना बाचा तोड्ने कुनै पनि बहाना नरहेको स्पष्ट पार्नुभयो। तेहरान आफ्ना प्रतिबद्धताप्रति अडिग रहेको तर वाशिङ्टनले बारम्बार सम्झौता उल्लङ्घन गरेका कारण इरानले पनि आफ्ना केही दायित्वहरू रोक्नुपरेको उहाँको भनाइ थियो।

साथै, हरमुज जलडमरूमध्यबारे बोल्दै इरानले उक्त रणनीतिक जलमार्गमाथि आफ्नो सार्वभौमिकता पूर्ण रूपमा प्रयोग गर्ने र आफ्नो राष्ट्रिय हितविरुद्ध हुने कुनै पनि किसिमको दुरुपयोगलाई दृढताका साथ रोक्ने अडान दोहोर्‍याएको छ।

स्मरण रहोस्, व्यावसायिक जहाजहरूको सुरक्षा गर्ने उद्देश्यले भन्दै अमेरिकाले गत हप्ता इरानका दक्षिणी प्रान्तहरूमा श्रृङ्खलाबद्ध हमला गरेको थियो। त्यसको जवाफमा इरानले पनि कुवेत, बहराइन र जोर्डनस्थित अमेरिकी सैन्य आधार शिविर तथा सुविधाहरूलाई लक्षित गर्दै मिसाइल र ड्रोन आक्रमणहरू तीब्र पारेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ