arrow

दाह्रा काटेपछि ध्रुर्वे निकुञ्जभित्रै, सुरक्षाका लागि बढाइयो सतर्कता

logo
हाम्रा कुरा
प्रकाशित २०८३ साउन ४ सोमबार
dhurbe-hatti-elephant.jpg

काठमाडौँ । मानव बस्तीमा क्षति पुर्‍याउन थालेपछि दाह्रा काटिएका जङ्गली हात्ती ‘ध्रुर्वे’ अहिले चितवन राष्ट्रिय निकुञ्जभित्रै बस्न थालेको छ। चितवन राष्ट्रिय निकुञ्जमा बस्दै आएको यस हात्तीले गत असार २० गते एकै परिवारका दुई जनाको ज्यान लिएपछि नियन्त्रणमा लिइएको थियो।

गत असार ३१ गते राति सुखीभार पोस्ट नजिक डार्ट गरी ध्रुर्वेको दुई वटा दाह्रा काटिएको थियो। हाल ध्रुर्वेको गलामा आधुनिक रेडियो कलर जडान गरिएको छ, जसबाट प्रत्येक १० मिनेटमा उसको स्थान र गतिविधिसम्बन्धी सूचना सङ्कलन भइरहेको छ। केही दिनअघि निकुञ्जबाट सीतामाई नजिक जान खोजेको भए पनि पुनः फर्केर चुरेको फेदितर्फ गएको निकुञ्जका सूचना अधिकारी अविनास थापामगरले जानकारी दिए।

हात्ती पुनः बस्तीतर्फ पस्न सक्ने जोखिमलाई मध्यनजर गर्दै निकुञ्ज प्रशासनले सुरक्षा सतर्कता उच्च बनाएको छ। बस्ती पसेको सूचना प्राप्त हुनासाथ मध्यवर्ती उपभोक्ता समिति, सामुदायिक वन, वडा कार्यालय र स्थानीय टोलहरूलाई तुरुन्त खबर गर्ने तथा निकुञ्ज सुरक्षा निकायको गस्ती टोलीले स्थलगत रूपमै पुगेर हात्तीलाई सुरक्षित रूपमा निकुञ्जतर्फ धपाउने गरी विशेष तयारी गरिएको छ। वर्तमानमा चितवन राष्ट्रिय निकुञ्जभित्र कुल ४५ देखि ५० वटा हात्तीहरू रहेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ