काठमाडौँ । स्पेनका मुख्य प्रशिक्षक लुइस डे ला फुएन्टेले फिफा विश्वकप २०२६ को फाइनलमा अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीलाई रोक्न कुनै एक खेलाडीलाई विशेष जिम्मेवारी नदिने स्पष्ट पारेका छन्। आइतबार न्युयोर्कस्थित मेटलाइफ स्टेडियममा हुने अर्जेन्टिनाविरुद्धको उपाधि भिडन्तअघि आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले मेस्सीविरुद्ध ‘म्यान मार्किङ’ रणनीति विगतमा असफल भएको आफ्नै अनुभव सुनाए।
स्पेनका प्रशिक्षकले वर्षौंअघिको कोपा डेल रे प्रतियोगितामा सेभिया र बार्सिलोनाबीचको खेलमा युवा अवस्थाका मेस्सीलाई रोक्न आफ्नो टोलीले विशेष योजना बनाएको स्मरण गरे। ७०औँ मिनेटसम्म खेल गोलरहित बराबरीमा रहे पनि मेस्सीलाई रोकिरहेका खेलाडीले कार्ड पाएर बाहिरिएपछि अर्को १५ मिनेटमै मेस्सीले चार गोल गरेको उनले बताए। सोही पुरानो अनुभवका आधारमा फाइनल खेलमा मेस्सीमाथि सामूहिक रूपमा धेरै ध्यान दिइने भए पनि एक जना खेलाडीमार्फत मात्र म्यान मार्किङ गर्ने योजना नरहेको उनले प्रष्ट पारे।
डे ला फुएन्टेले स्पेनका युवा स्टार लामिन यामाललाई मेस्सीसँग तुलना नगर्न आग्रह गर्दै यामाललाई आफ्नै शैलीमा विकास हुन दिनुपर्ने धारणा राखे। मेस्सी अविश्वसनीय प्रतिभा र सबै युवा खेलाडीका लागि उदाहरण भए पनि लामिनले आफ्नै पहिचान बनाउनुपर्ने उनको भनाइ छ।
स्पेनका प्रशिक्षकले अर्जेन्टिनाका प्रशिक्षक लियोनल स्कालोनी आफ्नो राम्रो साथी भएको उल्लेख गर्दै अर्जेन्टिनी टोली र स्कालोनीप्रति आफ्नो उच्च सम्मान रहेको बताए।
स्पेन यस विश्वकपमा उत्कृष्ट लयमा प्रस्तुत भएको छ। प्रतियोगिताभर मात्र एक गोल खाएको स्पेन एउटै विश्वकप संस्करणमा ६ क्लिनसिट राख्ने पुरुष विश्वकप इतिहासकै पहिलो टोली बनेको छ। लगातार ६ खेल जित्दै अस्ट्रिया, पोर्चुगल, बेल्जियम र फ्रान्सलाई पराजित गरेर फाइनल पुगेको स्पेन हाल लगातार ३७ खेलमा अपराजित छ। आइतबार अर्जेन्टिनालाई हराउन सके स्पेनले युरोपेली पुरुष राष्ट्रिय टोलीको सबैभन्दा लामो अपराजित यात्राको नयाँ कीर्तिमान बनाउनेछ।
यता साविक विजेता अर्जेन्टिना पनि लगातार दोस्रो उपाधिको खोजीमा छ। सेमिफाइनलमा इंग्ल्यान्डलाई २–१ ले हराउँदै फाइनल पुगेको अर्जेन्टिनाले पछिल्ला १४ खेल लगातार जितेको छ। खेलको अन्तिम समयमा उत्कृष्ट प्रदर्शन गर्ने क्षमता राखेको अर्जेन्टिनाले प्रतियोगितामा ८५औँ मिनेटपछि सर्वाधिक आठ गोल गरेर अर्को नयाँ कीर्तिमान बनाएको छ।
अर्जेन्टिना र स्पेनबीचको पछिल्लो हेड–टु–हेड इतिहास पूर्ण रूपमा बराबरीमा छ। दुवै टोलीले हालसम्म एकापसमा ६–६ खेल जितेका छन् भने दुई खेल बराबरीमा सकिएका छन्। यस्तो अवस्थामा युरोपियन च्याम्पियन स्पेन र कोपा अमेरिका विजेता अर्जेन्टिनाबीचको यो विश्वकप फाइनल फुटबल इतिहासकै निकै रोमाञ्चक प्रतिस्पर्धा हुने अपेक्षा गरिएको छ।