फाइनलअघि अर्जेन्टिनाका डिफेन्डर मार्टिनेजले दिए यस्तो सन्देश
हाम्रा कुरा
प्रकाशित २०८३ साउन ३ आइतबार
678
Shares
काठमाडौँ । फिफा विश्वकप २०२६ को फाइनल खेलअघि अर्जेन्टिनाका भरपर्दा डिफेन्डर लिसान्द्रो मार्टिनेजले टोलीको अभूतपूर्व एकता र आपसी सम्बन्धबारे एक भावुक सन्देश व्यक्त गरेका छन्। साविक विजेता अर्जेन्टिनाले आइतबार न्युजर्सीस्थित मेटलाइफ स्टेडियममा युरोपियन च्याम्पियन स्पेनसँग ऐतिहासिक उपाधिका लागि प्रतिस्पर्धा गर्नुअघि उनले यस्तो धारणा राखेका हुन्।
म्यानचेस्टर युनाइटेडका सेन्टर ब्याक समेत रहेका मार्टिनेजले सामाजिक सञ्जाल ‘एक्स’ (ट्विटर) मार्फत अर्जेन्टिनी टोलीको तस्बिर सार्वजनिक गर्दै टोलीभित्रको बलियो मानवीय सम्बन्ध र एकताप्रति गर्व व्यक्त गरे। उनले लेखेका छन्, ‘यो उत्कृष्ट समूह हो। यसको मानवीय पक्षलाई शब्दमा वर्णन गर्न सकिँदैन। सबै जना, साँच्चै सबै जना, यो राष्ट्रिय टोलीका लागि हरेक सानो कुरामा पनि अगाडि बढ्न प्रेरित गरिरहेका छन् र आफ्नो सबै कुरा दिइरहेका छन्। भोलि पनि हामी सबै एकसाथ हुनेछौँ, जसरी पहिलो दिनदेखि रहँदै आएका छौँ। यो टोलीको हिस्सा बन्न पाउनु विशेष अवसर हो। अगाडि बढौँ अर्जेन्टिना।’
२८ वर्षीय लिसान्द्रो मार्टिनेज जारी विश्वकप यात्रामा अर्जेन्टिनाका सबैभन्दा महत्त्वपूर्ण खेलाडीमध्ये एक बनेका छन्। उनले टोलीले खेलेका सातमध्ये ६ खेलमा सुरुआती ११ (स्टार्टिङ इलेभेन) मा स्थान बनाएका छन्। इंग्ल्यान्डविरुद्धको सेमिफाइनलमा पनि ७२ मिनेट खेल्दै उत्कृष्ट प्रदर्शन गरेका उनले क्रिस्टियन रोमेरोसँग मिलेर अर्जेन्टिनाको रक्षापंक्तिलाई मजबुत बनाएका छन्।
अर्जेन्टिना फाइनलमा लगातार १४ खेलको जितको सानदार लयसहित मैदान उत्रिँदैछ, जुन दक्षिण अमेरिकी टोलीको सबैभन्दा लामो जित यात्रामध्ये एक हो। यस विश्वकपका नकआउट चरणमा अर्जेन्टिनाले कठिन परिस्थितिबाट पुनरागमन गर्ने वा अन्तिम समयमा निर्णायक गोल गर्दै जित निकाल्ने अद्भुत क्षमता देखाएको छ।
तर, फाइनलमा अर्जेन्टिनाको सामना यस प्रतियोगिताकै सबैभन्दा बलियो डिफेन्स भएको स्पेनसँग हुँदैछ। स्पेनले प्रतियोगिताका सात खेलमा केवल एक गोल मात्र बेहोरेको छ भने एउटै विश्वकप संस्करणमा ६ वटा क्लिन सिट राख्ने पुरुष विश्वकप इतिहासकै पहिलो टोली बनेर कीर्तिमान रचिसकेको छ। समूह चरणमा केप भर्डेसँग गोलरहित बराबरी खेलेपछि स्पेनले लगातार ६ खेल जित्दै अस्ट्रिया, पोर्चुगल, बेल्जियम र फ्रान्सजस्ता हस्तीहरूलाई पाखा लगाएर सन् २०१० पछि पहिलो पटक फाइनल यात्रा तय गरेको हो।
अर्जेन्टिना र स्पेनबीचको विगतको हेड-टु-हेड तथ्यांक पनि पूर्ण रूपमा बराबरी छ। दुवै टोलीले ६–६ जित हात पारेका छन् भने दुई खेल बराबरीमा सकिएका छन्। कोपा अमेरिका विजेता अर्जेन्टिना लगातार दोस्रो पटक विश्वकप जित्ने लक्ष्यमा रहँदा युरोपियन च्याम्पियन स्पेन दोस्रो उपाधि चुम्ने दाउमा छ, जसका कारण यो फाइनल निकै रोमाञ्चक हुने निश्चित छ।