जलविद्युतमा बैंकको पाँच खर्ब लगानी, थप नौ खर्ब लगाउन सकिने [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८३ साउन १ शुक्रबार
418
Shares
काठमाडौँ। नेपाल राष्ट्र बैंकले जलविद्युत तथा ऊर्जा पूर्वाधारमा लगानी विस्तार गर्न नीतिगत लचकता र विभिन्न सहुलियतपूर्ण व्यवस्था गरेको जनाएको छ।
नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको कार्यक्रममा राष्ट्र बैंकका प्रवक्ता गुरुप्रसाद पौडेलले हाल बैंक तथा वित्तीय संस्थाबाट ऊर्जा क्षेत्रमा करिब पाँच सय अर्ब रुपैयाँ कर्जा प्रवाह भएको र थप नौ सय अर्ब रुपैयाँसम्म लगानी गर्ने क्षमता अझै रहेको जानकारी दिए।
उनका अनुसार बैंकहरूको कुल कर्जा प्रवाह क्षमता करिब ६० खर्ब रुपैयाँ पुगेको छ। ऊर्जा तथा प्रसारण लाइनजस्ता पूर्वाधार आयोजनाका लागि एकल ग्राहक कर्जा सीमा प्राथमिक पुँजीको ५० प्रतिशतसम्म पुर्याइएको छ, जबकि अन्य क्षेत्रमा यो सीमा २५ प्रतिशतमात्र छ।
राष्ट्र बैंकले ऊर्जा बण्ड जारी गर्न, ठूला आयोजना लक्षित डेडिकेटेड बण्डमार्फत स्रोत जुटाउन, निर्माण अवधिभर कर्जा नोक्सानी व्यवस्था (लोन लस प्रोभिजन) एक प्रतिशतमा सीमित राख्न तथा ५० मेगावाटभन्दा माथिका आयोजनाको ब्याज पुँजीकरण गर्न सकिने व्यवस्था गरेको जनाएको छ। जलविद्युत आयोजनाको कर्जा वर्गीकरणमा पनि विशेष लचकता अपनाइएको छ।
प्रवक्ता पौडेलले जलविद्युत क्षेत्रको विकासका लागि बैंकको ऋणमा मात्र निर्भर नरी ‘फाइनान्सियल रिसोर्स मिक्स’ अपनाउनुपर्नेमा जोड दिए।
यसका लागि राष्ट्र बैंकले ‘ग्रीन फाइनान्स ट्याक्सोनोमी’ ल्याएको उल्लेख गर्दै यसले अन्तर्राष्ट्रिय ग्रीन बण्ड र जलवायु कोष नेपाल भित्र्याउन सहयोग पुग्ने विश्वास व्यक्त गरे।