मध्यपूर्वको सैन्य तनावप्रति राष्ट्रसंघका महासचिवको चिन्ता
हाम्रा कुरा
प्रकाशित २०८३ साउन १ शुक्रबार
203
Shares
काठमाडौँ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले मध्यपूर्व क्षेत्रमा भइरहेको निरन्तरको सैन्य तनावप्रति गहिरो चिन्ता व्यक्त गरेका छन्। महासचिवका प्रवक्ता स्टेफन दुजारिकले प्रेस ब्रिफिङमार्फत यस विषयमा जानकारी गराएका हुन्।
प्रवक्ता दुजारिकका अनुसार महासचिव गुटेरेसले तनावमा संलग्न सबै पक्षहरूलाई तत्काल उत्तेजना कम गर्ने कदम चाल्न तथा वार्ता र कूटनीतिको बाटोमा फर्कन आग्रह गरेका छन्। मध्यपूर्वमा राजनीतिक र सैन्य सन्तुलन बिग्रँदै गएको अवस्थाप्रति राष्ट्रसंघले चासो देखाएको यो पहिलो पटक भने होइन।
यसैगरी, महासचिव गुटेरेसले रणनीतिक रूपमा महत्त्वपूर्ण मानिने हर्मुज जलसन्धि र त्यस आसपासका क्षेत्रमा अन्तर्राष्ट्रिय जलयान सञ्चालनको अधिकार र स्वतन्त्रतालाई पूर्ण रूपमा पुनःस्थापना गर्न आफ्नो माग पुनः दोहोर्याएका छन्। अन्तर्राष्ट्रिय कानुन बमोजिम जलयान सञ्चालनको अधिकार र स्वतन्त्रताको सबै पक्षले सम्मान गर्नुपर्नेमा उनले विशेष जोड दिएका छन्।
खासगरी अमेरिका र इरानबीच बढ्दो असमझदारी र मध्यपूर्वमा विकसित पछिल्लो सैन्य गतिविधिका कारण अन्तर्राष्ट्रिय व्यापारिक जलमार्गहरू असुरक्षित बन्दै गएको सन्दर्भमा राष्ट्रसंघले सबै पक्षलाई अधिकतम संयमता अपनाउन लगातार आग्रह गर्दै आएको छ।