काठमाडौँ । यातायात व्यवस्था कार्यालयले पछिल्लो तीन महिनामा ९० हजार थान सवारीचालक अनुमतिपत्र (लाइसेन्स) वितरण गरेको छ। लाइसेन्स वितरण र नवीकरण लगायतका सेवाबाट यस अवधिमा राज्यकोषमा कुल १९ करोड ८२ लाख रुपैयाँ राजस्व दाखिला भएको छ।
कार्यालयका प्रमुख प्रविण श्रेष्ठका अनुसार उक्त तीन महिनाको अवधिमा कुल २ लाख ३८ हजार थान लाइसेन्स छापिएका थिए, जसमध्ये ९० हजार थान सेवाग्राहीको हातमा पुगिसकेको छ।
पछिल्लो समय लाइसेन्स वितरण कार्यलाई तीव्र बनाइएको उल्लेख गर्दै प्रमुख श्रेष्ठले हाल कार्यालयबाट दैनिक १ हजारदेखि १ हजार ८०० जनासम्म सेवाग्राहीलाई सवारीचालक अनुमतिपत्र प्रदान गरिँदै आएको जानकारी दिए। यससँगै लामो समयदेखि लाइसेन्सको पर्खाइमा रहेका चालकहरूले राहत पाएका छन्।