arrow

‘मुर्रा राँगा’ को वीर्यबाट भैँसीको नश्ल सुधार गरिँदै

logo
हाम्रा कुरा
प्रकाशित २०८३ असार ३२ बिहिबार
Murra.jpg

काठमाडौँ । नेपालमा भैँसीको नश्ल सुधार तथा दुध उत्पादन वृद्धि गर्ने उद्देश्यले भारतबाट प्राप्त १५ वटा मुर्रा राँगाबाट ४८ हजार ८५६ डोज वीर्य सङ्कलन गरी किसानलाई वितरण गरिएको छ। मूल रूपमा भारतको पञ्जाब र हरियाणा राज्यमा उत्पत्ति भएको मुर्रा उच्च दूध उत्पादनका लागि प्रख्यात र व्यावसायिक रूपमा निकै लाभदायक मानिने भैँसीको उन्नत जात हो।

पशु सेवा विभागका सूचना अधिकारी डा. इन्दिरा शर्माका अनुसार भारत सरकारले वि.सं. २०८० मङ्सिरमा उपहार स्वरूप उपलब्ध गराएका यी उच्च प्रजनन क्षमताका राँगाहरूबाट हालसम्म कूल १ लाख ३० हजार ४२४ डोज वीर्य जम्मा गरिएको छ।

त्यसमध्ये ४८ हजार ८५६ डोज वीर्य विभिन्न कृत्रिम गर्भाधानका लागि किसानसम्म पुर्‍याइएको हो। हाल राष्ट्रिय पशु प्रजनन कार्यालय पोखरामा सात, लहानमा पाँच र नेपालगञ्जमा तीन गरी १५ वटा मुर्रा राँगाबाट कृत्रिम गर्भाधानका लागि वीर्य जम्मा गर्ने कार्य निरन्तर भइरहेको छ।

मुर्रा राँगाको वीर्यबाट कृत्रिम गर्भाधान गराइएका भैँसीहरूबाट पाडाहरू जन्मिन थालिसकेका छन्। तर, यसबाट दूध उत्पादन र नश्ल सुधारमा कति प्रभाव पर्यो भन्ने विषयमा अहिले नै अन्तिम निष्कर्ष निकाल्ने अवस्था नरहेको डा. शर्माले बताइन्।

मुर्रा जातको भैँसीले एक बेतमा ४ हजारदेखि ५ हजार लिटरसम्म दूध दिने गर्छ, जबकि नेपालका रैथाने जातका भैँसीले एक बेतमा सरदर १ हजार ५०० देखि १ हजार ६०० लिटरसम्म मात्र दूध दिन्छन्। कृत्रिम गर्भाधान प्रविधिको विस्तारसँगै आगामी दिनमा उन्नत नश्लका भैँसी उत्पादन हुने, किसानको लागत घट्ने तथा दुग्ध उत्पादनमा वृद्धि भई पशुपालन व्यवसाय थप व्यावसायिक बन्ने अपेक्षा पशु सेवा विभागले राखेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ