अर्जेन्टिना विश्वकपको फाइनलमा, इङ्गल्याण्ड २-१ ले पराजित
हाम्रा कुरा
प्रकाशित २०८३ असार ३२ बिहिबार
425
Shares
काठमाडौँ। अर्जेन्टिना विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । आज भएको दोस्रो सेमिफाइनलमा चितपरिचित प्रतिस्पर्धी इङ्गल्याण्डलाई २-१ ले पराजित गर्दै अर्जेन्टिना लगातार दोस्रो पटक फाइनलमा पुगेको हो ।
खेलमा इङ्गल्याण्डले प्रारम्भिक अग्रता लिए पनि जित हासिल गर्न सकेन । अन्तिम समयमा सम्हालिन नसक्दा इङ्गल्याण्ड जितबाट टाढियो । ५५ औँ मिनेटमा एन्थोनि गोर्डनले गोल गर्दै इङ्गल्याण्डलाई अग्रता दिलाए । उनले मोर्गन रोजर्सको पासमा गोल गरेका हुन् ।
अर्जेन्टिनाले बराबरी गर्न ८५ मिनेटको खेल कुर्नुपर्यो । इन्जो फर्नान्डेजले लियोनल मेस्सीको पासमा गोल गर्दै १-१ को बराबरीमा ल्याए ।
इन्जुरी समयको दोस्रो मिनेटमा लाउटारो मार्टिनेजले मेस्सीको क्रसपासमा गोल गर्दै टिमलाई फाइनलमा पुर्याए ।
साविक विजेता अर्जेन्टिनाले उपाधिका लागि फाइनलमा स्पेनसँग सोमबार बिहान खेल्नेछ । पराजित इङ्गल्याण्डले तेस्रो स्थानका लागि फ्रान्ससँग आइतबार बिहान खेल्नेछ ।
अर्जेन्टिना र इङ्गल्याण्डको विश्वकप
विश्वकपमा यी दुई टोलीबीच अहिलेसम्म भएका भेटहरू सधैँ इतिहास, विवाद र उत्कृष्ट फुटबलले भरिएका छन्। पहिलो भेट सन् १९६६ को क्वार्टरफाइनलमा भएको थियो, जहाँ आयोजक इङ्गल्याण्डले अर्जेन्टिनालाई १-० ले हराउँदै सेमिफाइनल पुगेको थियो। उक्त खेलमा अर्जेन्टिनाका कप्तान एन्टोनियो राट्टिन रातो कार्ड पाएपछि ठूलो विवाद भएको थियो।
त्यसपछि सन् १९८६ को क्वार्टरफाइनल विश्व फुटबलकै सबैभन्दा चर्चित खेलमध्ये एक बन्यो। मेक्सिको सिटीको एज्टेका रंगशालामा डिएगो म्याराडोनाले पहिले विवादास्पद ‘ह्यान्ड अफ गड’ गोल गरे भने त्यसको केही मिनेटपछि पाँच खेलाडीलाई छल्दै विश्वकप इतिहासकै उत्कृष्ट मानिने गोल गर्दै अर्जेन्टिनालाई २-१ को जित दिलाए। त्यो खेलले इङ्गल्याण्ड-अर्जेन्टिना प्रतिद्वन्द्वितालाई सधैँका लागि अमर बनाइदियो।
सन् १९९८ मा फ्रान्स विश्वकपको अन्तिम १६ मा यी दुई टोली फेरि भिडे। गेब्रियल बाटिस्टुटा, एलन शियरर, माइकल ओवन र युवा खेलाडी डेभिड बेकह्यामजस्ता स्टारले सजिएको खेल निर्धारित समय र अतिरिक्त समयमा २-२ को बराबरीमा सकिएको थियो।
त्यसपछि भएको पेनाल्टी सुटआउटमा अर्जेन्टिना ४-३ ले विजयी भयो। त्यही खेलमा बेकह्यामले रातो कार्ड पाएका थिए, जुन आज पनि धेरैले सम्झिने घटना हो।
लामो अन्तरालपछि सन् २००२ को समूह चरणमा यी दुई टोली फेरि आमनेसामने भए। त्यसबेला डेभिड बेकह्यामले गरेको पेनाल्टी गोल नै निर्णायक बन्दै इङ्गल्याण्ड १-० ले विजयी भएको थियो। त्यसयता विश्वकपमा यी दुई टोलीको भेट हुन सकेको थिएन।
यसपालि भएको भिडन्त उत्तिकै रोमाञ्चक भयो । ८५ मिनेटसम्म गोल नगरेको अर्जेन्टिनाले त्यसको सात मिनेटमै दुई गोल गरेर इङ्गल्याण्डलाई २-१ ले हराउन सफल भयो ।
यसरी विश्वकपमा अहिलेसम्म भएका पाँच भेटमध्ये अर्जेन्टिनाले तीन खेल जितेको र इङ्गल्याण्डले दुई खेल जितेको तथ्याङ्क छ। तर नकआउट चरणका सबैभन्दा चर्चित दुई भिडन्तमध्ये अर्जेन्टिनाले एक जित पेनाल्टीमा र अर्को जित म्याराडोनाको ऐतिहासिक प्रदर्शनमार्फत हासिल गरेको थियो। त्यसैले मनोवैज्ञानिक रूपमा अर्जेन्टिनाको पक्ष केही बलियो मानिन्छ।
यसपालिको खेलअघि अर्जेन्टिनाका प्रशिक्षक लियोनेल स्कालोनीले "यो फुटबलको खेल मात्रै हो" भने पनि अर्जेन्टिनामा यो प्रतिस्पर्धा अझै माल्भिनास (फकल्यान्ड) युद्ध, म्याराडोनाको विरासत र राष्ट्रिय गौरवसँग जोडिएर हेरिन्छ।
विश्वकपमा धेरै ठूला प्रतिस्पर्धा भए पनि इङ्गल्याण्ड-अर्जेन्टिना जस्तो इतिहास, राजनीति, भावना र फुटबल प्रतिभा एकैसाथ मिसिएको भिडन्त विरलै पाइन्छ। त्यसैले यो सेमिफाइनल खेल 'फाइनलअघि नै फाइनल'को रूपमा खेलप्रेमीले लिएका छन् ।
इङ्गल्याण्ड सन् १९५० देखि विश्वकपमा छ । तीन पटक बाहेक निरन्तर छानिएको छ । सन् १९६६ को विश्वकप विजेता इङ्गल्याण्ड सन् १९९० र २०१८ मा चौथो भएको थियो ।
यता तीन पटकको च्याम्पियन अर्जेन्टिना चौथो उपाधि जित्ने यात्रामा छ । अर्जेन्टिना सन् १९७८, १९८६ र २०२२ को विजेता अर्जेन्टिना सन् १९३०, १९९० र २०१४ मा उपविजेता भएको थियो ।
जारी विश्वकपमा मेस्सीले ८ गोल गरिसकेका छन् भने केनले ६ गोल गरेका छन् ।