विश्वकपमा फेरि अर्जेन्टिना-इङ्गल्याण्ड महासंग्राम, फाइनलको ढोका खोल्न मेस्सी र केनको महापरीक्षा
इतिहास, भावना र स्टार खेलाडीबीचको निर्णायक भिडन्त राति १२:४५ बजे
हाम्रा कुरा
प्रकाशित २०८३ असार ३१ बुधबार
461
Shares
तस्बिर: एआई
काठमाडौँ। विश्व फुटबलका दुई परम्परागत शक्ति इङ्गल्याण्ड र अर्जेन्टिना नेपाली समयअनुसार राति १२:४५ बजे विश्वकप फुटबलको दोस्रो सेमिफाइनलमा आमनेसामने हुँदैछन्। एटलान्टामा हुने यो खेलले केवल फाइनल पुग्ने टोलीको टुंगो लगाउने छैन, विश्वकप इतिहासकै सबैभन्दा चर्चित र भावनात्मक प्रतिद्वन्द्विताको अर्को अध्याय पनि लेख्नेछ।
विश्वकपमा यी दुई टोलीबीच अहिलेसम्म भएका भेटहरू सधैँ इतिहास, विवाद र उत्कृष्ट फुटबलले भरिएका छन्। पहिलो भेट सन् १९६६ को क्वार्टरफाइनलमा भएको थियो, जहाँ आयोजक इङ्गल्याण्डले अर्जेन्टिनालाई १-० ले हराउँदै सेमिफाइनल पुगेको थियो। उक्त खेलमा अर्जेन्टिनाका कप्तान एन्टोनियो राट्टिन रातो कार्ड पाएपछि ठूलो विवाद भएको थियो।
त्यसपछि सन् १९८६ को क्वार्टरफाइनल विश्व फुटबलकै सबैभन्दा चर्चित खेलमध्ये एक बन्यो। मेक्सिको सिटीको एज्टेका रंगशालामा डिएगो म्याराडोनाले पहिले विवादास्पद ‘ह्यान्ड अफ गड’ गोल गरे भने त्यसको केही मिनेटपछि पाँच खेलाडीलाई छल्दै विश्वकप इतिहासकै उत्कृष्ट मानिने गोल गर्दै अर्जेन्टिनालाई २-१ को जित दिलाए। त्यो खेलले इङ्गल्याण्ड-अर्जेन्टिना प्रतिद्वन्द्वितालाई सधैँका लागि अमर बनाइदियो।
सन् १९९८ मा फ्रान्स विश्वकपको अन्तिम १६ मा यी दुई टोली फेरि भिडे। गेब्रियल बाटिस्टुटा, एलन शियरर, माइकल ओवन र युवा खेलाडी डेभिड बेकह्यामजस्ता स्टारले सजिएको खेल निर्धारित समय र अतिरिक्त समयमा २-२ को बराबरीमा सकिएको थियो।
त्यसपछि भएको पेनाल्टी सुटआउटमा अर्जेन्टिना ४-३ ले विजयी भयो। त्यही खेलमा बेकह्यामले रातो कार्ड पाएका थिए, जुन आज पनि धेरैले सम्झिने घटना हो।
लामो अन्तरालपछि सन् २००२ को समूह चरणमा यी दुई टोली फेरि आमनेसामने भए। त्यसबेला डेभिड बेकह्यामले गरेको पेनाल्टी गोल नै निर्णायक बन्दै इङ्गल्याण्ड१-० ले विजयी भएको थियो। त्यसयता विश्वकपमा यी दुई टोलीको भेट हुन सकेको थिएन।
यसरी विश्वकपमा अहिलेसम्म भएका चार भेटमध्ये अर्जेन्टिनाले दुई खेल जितेको, इङ्गल्याण्डले दुई खेल जितेको तथ्याङ्क छ। तर नकआउट चरणका सबैभन्दा चर्चित दुई भिडन्तमध्ये अर्जेन्टिनाले एक जित पेनाल्टीमा र अर्को जित म्याराडोनाको ऐतिहासिक प्रदर्शनमार्फत हासिल गरेको थियो। त्यसैले मनोवैज्ञानिक रूपमा अर्जेन्टिनाको पक्ष केही बलियो मानिन्छ।
यसपटक पनि सबैको नजर अर्जेन्टिनी कप्तान लियोनेल मेस्सीमाथि हुनेछ। सम्भवतः आफ्नो अन्तिम विश्वकप खेलिरहेका मेस्सी अर्जेन्टिनालाई लगातार अर्को फाइनलमा पुर्याउने लक्ष्यमा छन् । उनको साथमा युलियन आल्भारेज, एन्जो फर्नान्डेज, एलेक्सिस म्याक एलिस्टर र एमिलियानो मार्टिनेज छन् ।
यता इङ्गल्याण्डले कप्तान ह्यारि केन, जुड बेलिङ्घम, बुकायो साका, डेक्लन राइस र फिल फोडेनको प्रदर्शनमा भरोसा गरेको छ। प्रशिक्षकको योजनाबद्ध खेल र युवा-अनुभवी संयोजनले इङ्गल्याण्ड यसपटक इतिहास बदल्ने विश्वासमा छ।
खेलअघि अर्जेन्टिनाका प्रशिक्षक लियोनेल स्कालोनीले "यो फुटबलको खेल मात्रै हो" भने पनि अर्जेन्टिनामा यो प्रतिस्पर्धा अझै माल्भिनास (फकल्यान्ड) युद्ध, म्याराडोनाको विरासत र राष्ट्रिय गौरवसँग जोडिएर हेरिन्छ। उता इङ्गल्याण्डका लागि भने यो पुरानो हिसाब बराबर गर्ने अवसरका रूपमा लिइएको छ।
पहिलो सेमिफाइनलमा फ्रान्सलाई २-० ले हराउँदै स्पेन फाइनलमा पुगिसकेको छ। त्यसैले यो खेलको विजेता टोलीले उपाधिका लागि स्पेनसँग प्रतिस्पर्धा गर्नेछ।
विश्वकपमा धेरै ठूला प्रतिस्पर्धा भए पनि इङ्गल्याण्ड-अर्जेन्टिना जस्तो इतिहास, राजनीति, भावना र फुटबल प्रतिभा एकैसाथ मिसिएको भिडन्त विरलै पाइन्छ। त्यसैले यो सेमिफाइनल खेल 'फाइनलअघि नै फाइनल'को रूपमा खेलप्रेमीले लिएका छन् ।
इङ्गल्याण्ड सन् १९५० देखि विश्वकपमा छ । तीन पटक बाहेक निरन्तर छानिएको छ । सन् १९६६ को विश्वकप विजेता इङ्गल्याण्ड सन् १९९० र २०१८ मा चौथो भएको थियो ।
यता तीन पटकको च्याम्पियन अर्जेन्टिना चौथो उपाधि जित्ने यात्रामा छ । अर्जेन्टिना सन् १९७८, १९८६ र २०२२ काे विजेता अर्जेन्टिना सन् १९३०, १९९० र २०१४ मा उपविजेता भएको थियो ।
जारी विश्वकपमा मेस्सीले ८ गोल गरिसकेका छन् भने केनले ६ गोल गरेका छन् ।