arrow

इङ्गल्याण्डविरुद्धको खेललाई फकल्याण्ड युद्धसँग मिसाएपछि यसो भने अर्जेन्टिनाका मुख्य प्रशिक्षकले

आफ्नै क्षमताले सेमिफाइनल पुगेका हौँ, इङ्गल्याण्डविरुद्ध पूर्ण रूपमा तयार छौँ

logo
हाम्रा कुरा
प्रकाशित २०८३ असार ३१ बुधबार
argentina-coach.jpg

काठमाडौँ। अर्जेन्टिनाका मुख्य प्रशिक्षक लियोनेल स्कालोनीले फिफा विश्वकप २०२६ मा आफ्नो टोलीको प्रदर्शनमाथि भइरहेको आलोचनालाई पूर्ण रूपमा अस्वीकार गरेका छन्। उनले टोलीले सेमिफाइनलसम्मको यात्रा कसैको भाग्यले नभई आफ्नै क्षमता र मेहनतले तय गरेको स्पष्ट पारेका छन्।

इङ्गल्याण्डविरुद्धको सेमिफाइनल भिडन्तअघि आयोजित पत्रकार सम्मेलनमा बोल्दै स्कालोनीले टोली मानसिक र शारीरिक रूपमा पूर्ण तयार रहेको र लगातार दोस्रो पटक विश्वकप उपाधि रक्षा गर्ने अभियानमा प्रतिबद्ध रहेको बताए। अमेरिकाको एटलान्टामा बुधबार हुने दोस्रो सेमिफाइनल खेलको विजेताले जुलाई १९ मा न्यूयोर्क–न्यु जर्सी स्टेडियममा हुने फाइनलमा उपाधिका लागि स्पेनको सामना गर्नेछ।

लगातार ६ खेल जितेर सेमिफाइनल पुगेको टोलीको प्रदर्शनलाई कमजोर भन्न नमिल्ने तर्क गर्दै स्कालोनीले भने, “टोलीले मानिसहरूले भनेजस्तो खराब खेलेको छैन। हामी यहाँसम्म आइपुगेका छौँ भने अवश्य पनि केही सही गरेका छौँ। यो चरणमा खेल शैलीभन्दा नतिजा महत्त्वपूर्ण हुन्छ। एक महिनाअघि कसैले जसरी भए पनि विश्वकपको सेमिफाइनल पुग्ने अवसर दिन्छ भने म तुरुन्त स्वीकार्थेँ। त्यसैले टोली कुन अवस्थामा छ भन्नेभन्दा जित मुख्य हो।”

अर्जेन्टिनाले समूह चरणमा अल्जेरिया, अस्ट्रिया र जोर्डनलाई पराजित गर्दै समूह विजेता बनेको थियो। नकआउट चरणमा केप भर्डे, इजिप्ट र स्विट्जरल्यान्डलाई हराउँदै टोलीले अन्तिम चारमा स्थान सुरक्षित गर्‍यो। केप भर्डे र स्विट्जरल्यान्डविरुद्ध अतिरिक्त समयसम्म सङ्घर्ष गरेको अर्जेन्टिनाले इजिप्टविरुद्ध २–० ले पछि परेको अवस्था उल्टाउँदै रोमाञ्चक जित निकालेको थियो।

यो अर्जेन्टिनाको लगातार चौथो विश्वकप सेमिफाइनल यात्रा हो। यसअघि टोली २०१४, २०१८ र २०२२ को विश्वकपमा पनि अन्तिम चारमा पुगेको थियो। स्कालोनीको सफल नेतृत्वमा टोलीले २०२१ र २०२४ मा कोपा अमेरिका तथा २०२२ मा विश्वकपको उपाधि जितिसकेको छ।

इङ्गल्याण्डविरुद्धको खेललाई लिएर ऐतिहासिक सन् १९८२ को फकल्याण्ड युद्धको प्रसङ्ग उठाइए पनि स्कालोनीले त्यसलाई फुटबलसँग जोड्न नहुने स्पष्ट पारे। उनले भने, “त्यो हाम्रो इतिहासको अत्यन्त दुःखद अध्याय हो। त्यसको सम्मान गर्नुपर्छ, तर यो एउटा फुटबल खेल मात्र हो। युद्ध र खेललाई मिसाउनु उचित हुँदैन।”

यता, जर्मनीका चर्चित प्रशिक्षक थोमस टुचेलको नेतृत्वमा रहेको इङ्गल्याण्ड टोली क्वार्टरफाइनलमा अतिरिक्त समयमा नर्वेलाई २–१ ले पराजित गर्दै सेमिफाइनलमा आइपुगेको हो। इङ्गल्याण्ड सन् १९६६ पछि पहिलो पटक विश्वकपको फाइनल पुग्ने दाउमा छ भने अर्जेन्टिना लगातार दोस्रो पटक उपाधि उचालेर इतिहास रच्न चाहन्छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ