राष्ट्रिय सभामा मल अभावदेखि ‘गाडी आतङ्क’ सम्मका विषयमा सरकारको आलोचना
हाम्रा कुरा
प्रकाशित २०८३ असार ३१ बुधबार
326
Shares
तस्बिर फाइल
काठमाडौँ । राष्ट्रिय सभाको बुधबार बसेको बैठकको शून्य समयमा बोल्दै सांसदहरूले मुलुकमा व्याप्त मल अभाव, प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप, सुकुमवासी समस्या र बढ्दो सुरक्षा चुनौती लगायतका समसामयिक विषयमा सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन्। बैठकमा प्रमुख रूपमा किसानका समस्या समाधान गर्न र राज्यमा विधिको शासन कायम गर्न जोडदार माग गरिएको छ।
बैठकमा बोल्दै सांसद गीता देवकोटाले सरकारको तथ्याङ्कमा मल उपलब्ध भएको देखाइए पनि किसानको खेतसम्म नपुगेको भन्दै ‘कागजमा मल, खेतमा हाहाकार’ को अवस्था तत्काल अन्त्य गर्न माग गरिन्। कोशी प्रदेशमा मल अभावका कारण हालसम्म जम्मा ३१.५ प्रतिशत मात्र रोपाइँ हुन सकेको तथ्याङ्क प्रस्तुत गर्दै सांसद सुनिलबहादुर थापाले यसबाट निम्तिने सम्भावित भोकमरीको जिम्मेवारी कृषि मन्त्रीले लिनुपर्ने बताए। यस्तै, सांसद सम्झना देवकोटाले गोरखामा चैते धान र अन्य बालीमा भएको क्षतिको उल्लेख गर्दै किसानलाई उचित क्षतिपूर्ति, मल र बीउ तत्काल उपलब्ध गराउन सरकारसँग आग्रह गरिन्।
सञ्चार गृह र राजनीतिक दलका नेताहरूको निवास अगाडि सवारी साधन तेर्स्याएर आवागमन अवरुद्ध पारिएको घटनाप्रति सांसदहरू मीना सिंह रखाल, सुनिलबहादुर थापा र खम्मबहादुर खातीले तीव्र आक्रोश व्यक्त गरे। उनीहरूले यसलाई ‘राज्य शक्तिको आडमा गरिएको प्रेसमाथिको दबाब’ र ‘गाडी आतङ्क’ को संज्ञा दिँदै दोषीमाथि कारबाही र घटनाको निष्पक्ष छानबिनको माग गरे। लोकतन्त्रमा आलोचना सुन्ने धैर्यता हुनुपर्ने र प्रेस स्वतन्त्रताको सम्मान गरिनुपर्नेमा उनीहरूको जोड थियो।
सांसद रामकुमारी झाँक्रीले मन्त्रिपरिषद् सदस्यका सल्लाहकार, स्वकीय सचिव तथा शोधकर्ताहरूको नियुक्ति कुन कानुन र सेवा सर्त बमोजिम गरिएको हो, त्यसको लिखित जानकारी सदनलाई दिन माग गरिन्। सल्लाहकारका नाममा राज्यमा समानान्तर सत्ता सञ्चालन गरेर भ्रम सिर्जना गरिएको भन्दै उनले यसको कानुनी निवारण हुनुपर्ने माग राखिन्।
सांसद रोशनी मेचेले नेपालमा लागुऔषध प्रयोगकर्ताको सङ्ख्या वार्षिक ५.०६ प्रतिशतले बढ्दै गएको प्रतिवेदन प्रस्तुत गर्दै यसलाई गम्भीर मानवीय सङ्कटका रूपमा लिएर प्रभावकारी नीति बनाउन सरकारको ध्यानाकर्षण गराइन्। अर्का सांसद रञ्जित कर्णले नेपाल ‘मिनी थाइल्यान्ड’ बन्दै गएको र देहव्यापारमा महिला तथा बालबालिकाहरू संलग्न भइरहेको भन्दै गम्भीर चिन्ता व्यक्त गरे।
यसै गरी, सांसद धर्मेन्द्र पासवानले सिराहाको गोलबजारमा एक बालिकाको अपहरण प्रयास र दलित परिवारमाथि भएको आक्रमणको घटनाबारे सदनलाई जानकारी गराउँदै दोषीमाथि कडा कारबाहीको माग गरे। सांसद रेखाकुमारी झाले सुकुमवासी बस्ती र होल्डिङ सेन्टरमा रहेका नागरिकलाई आधारभूत सुविधाबाट वञ्चित गरिएको भन्दै उनीहरूलाई लालपुर्जा र राहत दिने पूर्वप्रतिबद्धता पूरा गर्न सरकारलाई सचेत गराइन्।