दोस्रो उपाधिका लागि दोस्रो पटक विश्वकपको फाइनलमा स्पेन [फोटोफिचर]
हाम्रा कुरा
प्रकाशित २०८३ असार ३१ बुधबार
422
Shares
तस्बिर : एपी ।
काठमाडौँ । फ्रान्सलाई पराजित गर्दै स्पेन विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको टेक्सासस्थित डालास स्टेडियममा भएको पहिलो सेमिफाइनल खेलमा स्पेनले फ्रान्सलाई २–० गोलले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो ।
स्पेनको जितमा मिकेल ओयारजाबाल र पेड्रो पोरोले गोल गरे । खेलको पहिलो गोल मिकेल ओयार्जाबालले गरेका थिए । उनले खेलको २२औँ मिनेटमा पेनाल्टीमार्फत गोल गरेका हुन् ।
फ्रान्सका लुकास डिग्नेले लामिन यमालविरुद्ध ‘फाउल’ गरेपछि स्पेनले ‘पेनाल्टी’ पाएको थियो । त्यसपछि खेलको ५८औँ मिनेटमा पेड्रो पोरोले गोल गर्दै स्पेनको अग्रता दोब्बर बनाए । बाँकी समयमा दुवै टोलीबाट गोल हुन सकेन र स्पेनले फ्रान्समाथि २–० को जित हासिल गर्दै फाइनल यात्रा तय गरेको हो ।
सन् २०१० को च्याम्पियन स्पेन दोस्रो उपाधिका लागि दोस्रो पटक फाइनलमा पुगेको हो । १७ औँ पटक विश्वकप खेलिरहेको स्पेन सन् १९७८ देखि निरन्तर विश्वकपमा सहभागी भएको छ ।
सन् २०३० को विश्वकपका लागि स्पेन सहआयोजकका नाताले छनोट भइसकेको छ ।