काठमाडौँ । स्पेन विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । आज बिहान अमेरिकाको डालासमा सम्पन्न सेमिफाइनलमा फ्रान्सलाई २-० ले सहजै पराजित गर्दै स्पेन फाइनलमा पुगेको हो ।
साविक उपविजेता फ्रान्स उपाधि होडमा रहे पनि सन् २०१० को विश्वकप विजेता स्पेन हावी भएसँगै फाइनलमा पुगेको हो । स्पेनले मध्यान्तरअघि एक तथा मध्यान्तरपछि एक गोल गरेको हो ।
खेलको २२ औँ मिनेटमा पाएको पेनाल्टीलाई गोलमा परिणत गर्दै मिकेल ओयार्जाबालले टोलीलाई १-० ले अग्रता दिलाए । फ्रान्सका लुकास डिग्नेले पेनाल्टी क्षेत्रमा फाउल गरेपछि स्पेनले पेनाल्टी पाएको थियो ।
५८ औँ मिनेटमा पेड्रो पोर्रोले गोल गर्दै स्पेनलाई २-० ले जिताए । उनले डानि ओल्मोको पासमा गोल गरेका हुन् ।
खेलमा सन् २०२२ को फाइनलमा ह्याट्रिक गर्न सफल फ्रेन्च कप्तान केलियन एम्बाप्पेले जादू देखाउने अपेक्षा गरिएको भए पनि उनका सबै प्रहारलाई स्पेनी गोलकिपर उनाइ सिमोनले निस्तेज पारिदिएका थिए ।
जारी विश्वकपमा ८ गोल गरेका भए पनि एम्बाप्पे सेमिफाइनलमा गोल गर्न भने चुके ।
मोरक्को विरुद्धको क्वार्टरफाइनल जितका क्रममा सामान्य खुट्टाको घुँडामा चोट लागेपछि उनी खेल्नेमा शंका थियो । मोरक्कोविरुद्ध फ्रान्सले २–० को जित निकालेको क्वार्टरफाइनल खेलमा चोट लागेपछि एम्बाप्पेले अन्तिम प्रशिक्षण सत्र पूरा गरेका थिएनन् ।
स्पेनले क्वार्टरफाइनलमा बेल्जियमलाई २–१ ले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको थियो।
लगातार ३७ खेल अपराजित रहँदै स्पेन फाइनलमा पुगेको छ ।
अन्तिम चार टोलीमध्ये नकआउट चरणमा सबैभन्दा प्रभावशाली र सन्तुलित प्रदर्शन फ्रान्सले गरेको थियो । समूह ‘आई’ को विजेता बनेपछि फ्रान्सले राउन्ड अफ ३२ मा स्वीडेनलाई ३–० ले सहज रूपमा हराएको थियो।
त्यसपछि राउन्ड अफ १६ मा पाराग्वेलाई १–० ले पराजित गर्दै क्वार्टरफाइनलमा पुगेको फ्रान्सले मोरक्कोलाई २–० ले हराउँदै सेमिफाइनलमा स्थान पक्का गरेको थियो।
नकआउट चरणमा फ्रान्सले ६ गोल गरेको थियो भने सेमिफाइनल भन्दा अगाडि कुनै पनि गोल व्यहोरेको थिएन ।
स्पेन १६ वर्षपछि पहिलो पटक फाइनलमा पुगेको हो ।
अब स्पेनले उपाधिका लागि अर्को सेमिफाइनलको विजेतासँग खेल्नेछ । अर्को सेमिफाइनलमा राति पौने १ बजे अर्जेन्टिना र इङ्गल्याण्ड भिड्ने छन् । विजेताले स्पेनसँग उपाधि भिडन्त गर्नेछ भने पराजित हुने टिमले तेस्रो स्थानका लागि फ्रान्ससँग खेल्नेछ ।