विश्वकपको सेमिफाइनलमा भिड्दै फ्रान्स र स्पेन, के गर्लान् एम्बाप्पे ?
हाम्रा कुरा
प्रकाशित २०८३ असार ३० मंगलबार
419
Shares
काठमाडौँ । विश्वकप फुटबलको पहिलो सेमिफाइनलमा फ्रान्स र स्पेनबीच भिडन्त हुँदैछ । खेल नेपाली समयअनुसार राति पौने १ बजे अमेरिकाको डालासमा शुरू हुनेछ ।
साविक उपविजेता फ्रान्स उपाधि होडमा छ । सन् २०१० को विजेता स्पेन पनि लयमै छ । सेमिफाइनलमा फ्रेन्च कप्तान केलियन एम्बाप्पे मैदान उत्रने अपेक्षा गरिएको छ ।
मोरक्को विरुद्धको क्वार्टरफाइनल जितका क्रममा सामान्य खुट्टाको घुँडामा चोट लागे पनि स्पेनविरुद्ध हुनेखेलका लागि फिट रहने अपेक्षा गरिएको छ ।
सेमिफाइनलअघि सञ्चारकर्मीसँग कुरा गर्दै फ्रान्सका मुख्य प्रशिक्षक डिडिएर डेसाम्प्सले स्टार फरवार्ड एम्बाप्पे खेल्न उपलब्ध रहने बताएका छन् । ‘केलियन ठीक छन्,’ डेसाम्प्सले रोयटर्सलाई उद्धृत गर्दै भने।
मोरक्कोविरुद्ध फ्रान्सले २–० को जित निकालेको क्वार्टरफाइनल खेलमा चोट लागेपछि एम्बाप्पेले अन्तिम प्रशिक्षण सत्र पूरा गरेका थिएनन् ।
उक्त खेलमा अन्तिम समयमा उनलाई प्रतिस्थापन गरिएको थियो र सावधानीका रूपमा उनको प्रशिक्षणको भार पनि कम गरिएको थियो।
एम्बाप्पेको प्रशिक्षण सहभागिताबारे सोधिएको प्रश्नमा डेसाम्प्सले भने, ‘हो, उनले प्रशिक्षण गरे। १५ मिनेटको सट्टा एउटा अभ्यासमा उनलाई १० मिनेट मात्र सहभागी हुन दिइएको छ,’ रोयटर्सले जनाएको छ।
प्रशिक्षणका क्रममा उनलाई आंशिक रूपमा आराम दिइए पनि उक्त चोटका कारण स्पेन विरुद्धको बहुप्रतीक्षित सेमिफाइनल खेल गुमाउनुपर्ने अवस्था नरहेको बताइएको छ।
फ्रान्सले सेमिफाइनलमा उत्कृष्ट लयमा रहेको स्पेनसँग प्रतिस्पर्धा गर्नेछ। स्पेनले क्वार्टरफाइनलमा बेल्जियमलाई २–१ ले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको थियो।
लगातार ३६ खेलसम्म अपराजित रहेको स्पेन विश्वकप २०२६ को फाइनलमा स्थान सुरक्षित गर्ने लक्ष्यमा हुनेछ। यस सेमिफाइनलको विजेताले जुलाई १९ मा हुने उपाधि भिडन्तमा स्थान बनाउनेछ।
अन्तिम चार टोलीमध्ये नकआउट चरणमा सबैभन्दा प्रभावशाली र सन्तुलित प्रदर्शन फ्रान्सले गरेको छ । समूह ‘आई’ को विजेता बनेपछि फ्रान्सले राउन्ड अफ ३२ मा स्वीडेनलाई ३–० ले सहज रूपमा हराएको थियो।
त्यसपछि राउन्ड अफ १६ मा पाराग्वेलाई १–० ले पराजित गर्दै क्वार्टरफाइनलमा पुगेको फ्रान्सले मोरक्कोलाई २–० ले हराउँदै सेमिफाइनलमा स्थान पक्का गरेको थियो।
नकआउट चरणमा फ्रान्सले ६ गोल गरेको थियो भने अहिलेसम्म कुनै पनि गोल व्यहोरेको छैन, जसले दबाबका बेला पनि टोलीको बलियो र अनुशासित रक्षापंक्तिलाई देखाउँछ।
कडा प्रतिस्पर्धात्मक खेलहरूमा पनि फ्रान्सले आफ्नो खेल संरचना मजबुत राखेको छ भने कप्तान केलियन एमबाप्पेले निर्णायक क्षणमा आक्रमणतर्फ टोलीलाई धार प्रदान गर्दै आएका छन्।
एम्बाप्पेले जारी विश्वकपमा आठ गोल गरिसकेका छन् । उनले २०२२ मा पनि आठ गोल गरेका थिए । अहिलेसम्म उनले विश्वकपमा २० गोल गरिसकेका छन् । उनले तेस्रो सहभागितामै २० गोल पुर्याएका हुन् ।
साविक विजेता अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले पनि आठ गोल गरेका छन् । उनले विश्वकपमा २१ गोल गरेका छन् ।
दोस्रो सेमिफाइनलमा अर्जेन्टिना र इङ्गल्याण्ड बिहीबार बिहान खेल्नेछन् । इङ्गल्याण्डका कप्तान ह्यारि केनले छ गोल गरिसकेका छन् ।