काठमाडौँ । नेपाल आयल निगमले बुधबारदेखि पहिलेकै जस्तै १४.२ केजीको भरिएको एलपी ग्यास सिलिन्डर बिक्री वितरण गर्ने भएको छ ।
इन्डियन आयल कर्पोरेशनले लोडिङको अवस्थामा सुधार आएको तथा उपभोक्ताबाटसमेत १४.२ केजीकै सिलिन्डरको उच्च माग भएसँगै निगमले पूरा ग्यास नै उपलब्ध गराउने निर्णय गरेको जनाएको छ ।
पूरा ग्यासको मूल्य दुई हजार ६० रुपैयाँ पर्नेछ । बजारमा ७.१ केजीको ग्यास पनि रहेकाले त्यो पूर्ण प्रतिस्थापन नहुन्जेल दुवै ग्यास बजारमा रहने छन् ।
निगमले उपभोक्तालाई नझुक्किइकनै ग्यास लिन आग्रह गरेको छ । निगमले भारतबाट नियमित रूपमा ग्यास आइरहेकाले सिलिन्डर भण्डारण नगर्न पनि आग्रह गरेको छ ।
उपभोक्ता ठगिने सम्भावना भने बढेको छ । पूरा भरि सिलिन्डर भनेर आधा सिलिन्डर पसलबाट दिन सकिने शंका भएको हो ।
यसअघि ग्यासको मूल्यमा सय रुपैयाँ घटेको भए पनि नयाँ सिलिन्डर नआएको र पुरानै स्टक रहेको भन्दै दुई हजार एक सयकै मूल्यमा उपभोक्ताले किन्न परिरहेको छ ।