नारायणगढ–मुग्लिन सडकका १५ ठाउँको पहिरो हटाइयो, दुईतर्फी यातायात चालु
हाम्रा कुरा
प्रकाशित २०८३ असार ३० मंगलबार
295
Shares
काठमाडौँ । नारायणगढ–मुग्लिन सडकखण्डको १५ फरक-फरक स्थानमा खसेको पहिरो पन्छाएपछि सडक दुईतर्फी रूपमा चालु भएको छ।
सोमबार दिउँसोदेखि सुरु भएको लगातारको वर्षात्का कारण साँझ ७ बजेदेखि विभिन्न ठाउँमा पहिरो खस्न थालेको थियो, जुन मंगलबार बिहानसम्मै जारी रह्यो। सडकमा थुप्रिएको पहिरो बिहान पूर्ण रूपमा हटाएपछि दुईतर्फी सवारी साधन सञ्चालनमा आएको डिभिजन सडक कार्यालय भरतपुरका इन्जिनियर अर्जुन घिमिरेले जानकारी दिए। सडक खुलाउन रातभर नै दुई वटा लोडरसहितका आवश्यक उपकरण र जनशक्ति परिचालन गरिएको थियो।
इन्जिनियर घिमिरेका अनुसार उक्त सडकखण्डको भतेरी, खोरखोला, १५ किलो, ११ किलो, १६ किलो, १९ किलो, सेतीदोभानका दुई ठाउँ, घुमाउने, सिमलतालका दुई ठाउँ, २५ किलो, जलविरे, नाम्सी खोला र तुईन खोलामा पहिरो खसेर सडक अवरुद्ध भएको थियो। त्यसमध्ये सेतीदोभानमा सडक पूर्ण रूपमा दुईतर्फी र अन्य ठाउँमा एकतर्फी अवरुद्ध बनेको थियो। राति १ बजेसम्म नै गाडी चलाउन मिल्ने गरी पहिरो पन्छाइएको भए तापनि केही स्थानमा थप पहिरो खसेको र अरू खस्ने जोखिम कायमै रहेकाले सुरक्षाका लागि बिहानसम्म कुर्नुपरेको कार्यालयले जनाएको छ।
मनसुन सक्रिय भएसँगै यो सडकखण्डमा जुनसुकै बेला पुनः पहिरो खसेर दुर्घटना हुन सक्ने जोखिम उच्च रहेकाले अत्यावश्यक कामबाहेक रातिको समयमा सकेसम्म यात्रा नगर्न स्थानीय प्रशासनले यात्रुहरूलाई आग्रह गरेको छ।