रोशी खोलामा पानीको सतह घटेपछि बीपी राजमार्ग पुनः सञ्चालनमा
हाम्रा कुरा
प्रकाशित २०८३ असार ३० मंगलबार
199
Shares
काठमाडौँ । रोशी खोलामा पानीको सतह बढेपछि हिजो दिउँसोदेखि बन्द भएको बीपी राजमार्ग आज बिहानदेखि पुनः सञ्चालनमा आएको छ। खोलामा पानीको बहाव बढेपछि सुरक्षा जोखिमलाई ध्यानमा राख्दै राजमार्गमा यातायात आवागमन पूर्ण रूपमा बन्द गरिएको थियो।
पानीको सतह घटेसँगै सुरक्षा अवस्थाको मूल्याङ्कन गरी आज बिहानदेखि सवारीसाधन सञ्चालनमा ल्याइएको हो। राजमार्ग खुलेसँगै विभिन्न स्थानमा रोकिएका (होल्ड गरिएका) सवारीसाधनहरू आ-आफ्नो गन्तव्यतर्फ लागेका छन्। प्रहरीले यात्रु तथा सवारी चालकलाई सुरक्षा सावधानी अपनाउँदै सचेततापूर्वक यात्रा गर्न अनुरोध गरेको छ।
गत वर्ष रोशी खोलामा आएको भीषण बाढीले बीपी राजमार्गका विभिन्न खण्डमा ठूलो क्षति पुर्याएको थियो। बाढीबाट क्षतिग्रस्त राजमार्गको स्थायी पुनर्निर्माण कार्य अहिले पनि जारी रहेको छ। हाल खोलामा अस्थायी डाइभर्सन निर्माण गरी सवारीसाधन सञ्चालन गरिँदै आएको छ।
अस्थायी डाइभर्सनबाट यातायात सञ्चालन भइरहेकाले खोलामा पानीको सतह बढ्ने बित्तिकै सुरक्षाका कारण सवारी आवागमन तत्काल बन्द गर्नुपर्ने अवस्था आउने गरेको छ। वर्षायाममा रोशी खोलाको बहाव जुनसुकै समयमा बढ्न सक्ने भएकाले यात्रा गर्नुअघि सडकको अवस्था बुझ्न तथा प्रहरी र सम्बन्धित निकायको निर्देशन पालना गर्नसमेत यात्रुहरूमा अनुरोध गरिएको छ।