पर्वत, स्याङ्जा र गुल्मीको सङ्गमस्थलमा रहेको विश्वकै ठूलो शालिग्राम शिला डुबानमा
हाम्रा कुरा
प्रकाशित २०८३ असार ३० मंगलबार
243
Shares
तस्बिर फाइल
काठमाडौँ । पर्वत, स्याङ्जा र गुल्मी जिल्लाको सङ्गमस्थल सेतीवेणीमा रहेको विश्वकै ठूलो शालिग्राम शिला डुबानमा परेको छ। दुई दिनदेखि जारी अविरल वर्षाका कारण कालीगण्डकी नदी र सेतीखोलाको जलसतह ह्वात्तै बढेपछि पवित्र शिला पूर्ण रूपमा पानीमुनि परेको हो।
शालिग्राम विद्याश्रमका संरक्षक कुलराज तिवारीका अनुसार शिलामा जाने बाटो, नजिकै रहेको सत्तल र परिक्रमास्थल समेत डुबिसकेको छ। शिला डुबानमा परेसँगै त्यहाँ कार्यरत पुजारी तथा पण्डितहरू सुरक्षित स्थानमा विस्थापित भएका छन् भने नियमित पूजापाठ र दर्शन कार्य पूर्ण रूपमा ठप्प भएको छ। भक्तजनहरू शिलाको दर्शन गर्नबाट वञ्चित भएका छन्।
स्थानीय तिलक पराजुलीले सेतीखोला र कालीगण्डकी दुवैको उच्च बहावका कारण शिला परिक्रमास्थल क्षतविक्षत बनेको जानकारी दिए। शिला संरक्षणका लागि निर्माण गरिएको तटबन्ध र ग्याबियन जालीसमेत पानीले पुरिएपछि अहिले सो क्षेत्रमा जान रोक लगाइएको छ। शिला क्षेत्र डुबानमा परे पनि हालसम्म स्थानीय बस्तीमा भने तत्कालै ठूलो खतरा नरहेको पराजुलीले बताए।
कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजनाको बाँधका कारण यस क्षेत्रमा बाढी आउँदा सेतीवेणी बजार सधैँ डुबानको जोखिममा पर्ने गरेको छ। नदीको बहाव बढेसँगै पर्वततर्फको बजार क्षेत्र र स्याङ्जाको गल्याङ नगरपालिका–५ तर्फको बजारका झन्डै दुई सय व्यापारी तथा सर्वसाधारण त्रसित बनेका छन्। दुई वर्षअघि साउनमा आएको भीषण बाढी बजारमा पस्दा एक घर भत्किनुका साथै आधा दर्जन परिवार विस्थापित भएका थिए।
गल्याङ नगरपालिका–५ का वडाध्यक्ष घनश्याम भट्टराईले कालीगण्डकी नदीको बहाव परिवर्तन नगरेसम्म यो जोखिम कायम रहने बताए। गुल्मीतर्फबाट नदीको बहाव फर्काएर शालिग्राम शिला र बजारको संरक्षण गर्नुपर्ने माग स्थानीयको छ। यता विहादी गाउँपालिकाका अध्यक्ष परबीन गुरुङले शालिग्राम शिला अवस्थित स्याङ्जाको गल्याङ नगरपालिका, पर्वतको विहादी गाउँपालिका र गुल्मीको कालीगण्डकी गाउँपालिकाले संयुक्त रूपमा समन्वय गरेर मात्र सेतीवेणी क्षेत्रको दीर्घकालीन संरक्षण गर्न सकिने उल्लेख गरे।
जिल्ला प्रहरी कार्यालय पर्वतले लगातारको वर्षाका कारण सेतीवेणी क्षेत्रलगायत जिल्लाका विभिन्न खोला तथा नदीहरूमा बाढीपहिरोको उच्च जोखिम रहेकाले आवश्यक सुरक्षा सतर्कता अपनाउन स्थानीय बासिन्दालाई आग्रह गरेको छ। जोखिम जुनसुकै बेला बढ्न सक्ने भएकाले नदी तटीय क्षेत्रका नागरिकलाई सतर्क रहन प्रहरी निरीक्षक राजन पटेलले सचेत गराएका छन्।