काठमाडौँ । सरकारले प्रेस काउन्सिल नेपालको अध्यक्षमा उमेश श्रेष्ठ (सालोक्य) लाई नियुक्त गरेको छ। श्रेष्ठलाई मन्त्रिपरिषद् बैठकले काउन्सिल अध्यक्षमा नियुक्त गरेको हो ।
उनी अध्यक्षमा नियुक्त भएसँगै सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाबाट नियुक्तिपत्रसमेत ग्रहण गरेका छन् ।
श्रेष्ठ पत्रकारिताबाटै आएका हुन् । उनी छापा, टेलिभिजन हुँदै अनलाइन पत्रकारितामा सक्रिय रहँदै आएकाछन् । उनी माइसंसार डटकममार्फत निरन्तर ब्लगिङमा सक्रिय रहँदै आएका छन् ।
पछिल्लो समय भने उनले फ्याक्टचेकर र पत्रकारिता प्रशिक्षकका रूपमासमेत सक्रिय रहँदै आएका छन् ।
मन्त्रिपरिषद्को गत असार २४ गतेको निर्णयअनुसार उनीसँगै नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरे नियुक्त भएका हुन् ।
नियुक्तपत्र प्रदान गर्दै सञ्चार मन्त्री तिमिल्सिनाले प्रतिस्पर्धात्मक प्रक्रियाबाट छनोट भई जिम्मेवारीमा आएका दुवै संस्थाका नवनियुक्त अध्यक्षहरूलाई बधाई दिँदै परिणाममुखी काम गर्न निर्देशन दिए ।
यता नियुक्तिपत्र पाएसँगै नवनियुक्त अध्यक्ष श्रेष्ठले सञ्चारमाध्यमको स्वरूप परिवर्तन भइसके पनि प्रेस काउन्सिल सम्बन्धी कानून पुरानो भइसकेकाले त्यसलाई समयानुकूल परिमार्जन गर्नुपर्ने खाँचो औँल्याए ।
उनले पत्रकार आचारसंहिताको प्रभावकारी कार्यान्वयन गर्दै पत्रकारितामा स्वनियमनको प्रणालीलाई थप सुदृढ बनाउने आफ्नो प्राथमिकता रहने बताए ।
सरकार र सञ्चार क्षेत्रबीच विश्वासको पुलका रूपमा काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै अध्यक्ष श्रेष्ठले प्रेस स्वतन्त्रताको संरक्षणसँगै जिम्मेवार पत्रकारिताको प्रवर्द्धनमा काउन्सिल सक्रिय रहने उल्लेख गरे ।