arrow

काठमाडौँमा २१३ औँ भानु जयन्ती मनाइयो

विदेशी संस्कृतिविद् डा. आनाले वाचन गरिन् श्लोक

logo
हाम्रा कुरा
प्रकाशित २०८३ असार २९ सोमबार
aana-slok-.jpg

काठमाडौँ । नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २१३ औँ जन्मजयन्ती आज काठमाडौँलगायत देशभर विभिन्न कार्यक्रम गरी मनाइएको छ। नेपाली भाषालाई एकताको सूत्रमा गाँस्न विशिष्ट योगदान पुर्‍याएका आचार्यको स्मरणमा सोमबार बिहान काठमाडौँमा एक विशेष कार्यक्रमको आयोजना गरियो।

हरेक वर्ष असार २९ गते मनाइने भानु जयन्तीका अवसरमा आज देशभरका साहित्यिक संघ–संस्था, विद्यालय तथा विश्वविद्यालयहरूले विशेष कार्यक्रम गरेका छन्। काठमाडौँको रानीपोखरीस्थित भानुभक्तको पूर्णकदको प्रतिमामा माल्यार्पण गरिनुका साथै विभिन्न साहित्यिक गोष्ठी, काव्य वाचन तथा प्रवचन कार्यक्रमहरू सञ्चालन भइरहेका छन्। वि.सं. १८७१ असार २९ गते तनहुँको चुँदी रम्घामा जन्मिएका आचार्यले संस्कृतमा रहेको रामायणलाई सरल नेपाली भाषामा अनुवाद गरी आम जनमानसमा पुर्‍याएका थिए।

यस वर्षको कार्यक्रममा विदेशी संस्कृतिविद् डा. आना एम सिस्टरको प्रस्तुति र उपस्थिति विशेष आकर्षणको केन्द्र बन्यो। नेपाली लोक साहित्य, संस्कृति र नेपाली भाषाको प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याएकी डा. आनाले आफ्नो २० वर्षअघिको नेपाल यात्रा स्मरण गर्दै आफू २० वर्षअगाडि नेपालमा पहिलो चोटी विद्यार्थी भएर आएको बताइन्। "त्योभन्दा अगाडि मलाई पठाइएको क्यासेटबाट अलिकति मात्रै नेपाली भाषा सिकेकी थिएँ," उनले भनिन्, "सिक्दै गएँ, तर पनि कहिल्यै सोचेकी थिइनँ कि यसरी सम्मान प्राप्त गर्ने ठाउँमा पुग्नेछु। यो मेरो लागि धेरै ठूलो कुरा हो।"

भानु प्रतिष्ठानका अध्यक्ष दिव्य अर्यालको अनुरोधमा डा. आनाले भानुभक्तद्वारा नेपालीमा अनुवाद गरिएको रामायणको श्लोक लयबद्ध रूपमा वाचन गरेर सुनाएकी थिइन् भने एउटा नेपाली गीत समेत गाएकी थिइन्। उनको स्पष्ट नेपाली भाषा र लयबद्ध वाचनले विदेशी नागरिकमा समेत नेपाली भाषा र संस्कृतिप्रतिको अगाध मोह रहेको प्रष्ट पारेको छ।

भानुभक्तका ‘रामायण’, ‘वधुशिक्षा’, ‘प्रश्नोत्तर’, ‘भक्तमाला’ र ‘रामगीता’ लगायतका कृतिहरू नेपाली साहित्यका अमूल्य निधि मानिन्छन्। नेपालका साथै भारतको दार्जिलिङ, सिक्किम लगायत नेपाली भाषीहरूको बाहुल्यता रहेका विश्वका विभिन्न स्थानहरूमा पनि भानु जयन्तीलाई विशेष उत्सवका रूपमा मनाउने गरिन्छ। भानुभक्तको योगदानले नै नेपाली भाषालाई राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा पहिचान दिलाउन महत्वपूर्ण भूमिका खेलेको साहित्यकारहरूको ठम्याइ छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ