मेची राजमार्गको गोलाखर्क–राजदुवाली खण्ड पूर्ण रूपमा बन्द
इलाम, पाँचथर र ताप्लेजुङको झापासँग सडक सम्पर्क विच्छेद, माइखोलाको दुवै किनारमा सयौँ सवारी रोकिए
हाम्रा कुरा
प्रकाशित २०८३ असार २९ सोमबार
434
Shares
तस्बिर फाइल
काठमाडौँ । लगातारको वर्षाका कारण मेची राजमार्गअन्तर्गत इलामको गोलाखर्क–राजदुवाली सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। दुई दिनदेखिको अविरल वर्षाले इलाम नगरपालिका–९ स्थित उक्त सडकखण्ड थप भासिएपछि सुरक्षा जोखिमलाई ध्यानमा राखेर सडक पूर्ण रूपमा बन्द गरिएको हो।
प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालका अनुसार उक्त सडकमा विगत चार दिनदेखि नै ठूला सवारीसाधन सञ्चालन हुन सकेका थिएनन्। आइतबारसम्म जोखिम मोलेरै भए पनि मोटरसाइकल सञ्चालन गर्न दिइएकोमा गएराति सडक थप भासिएपछि सोमबारदेखि सबै प्रकारका सवारीसाधन सञ्चालनमा पूर्ण रोक लगाइएको छ। दिनदिनैको वर्षाले सडक भासिने र पहिरो झर्ने क्रम नरोकिएकाले यो खण्ड अनिश्चितकालका लागि बन्द गरिएको प्रजिअ ढकालले बताए।
मुख्य राजमार्ग बन्द भएपछि वैकल्पिक मार्गका रूपमा प्रयोग भइरहेका सहायक सडकहरू समेत बाढीले बगाउँदा संकट थपिएको छ। तिल्केनी–सिमलगोला सडकअन्तर्गत जोगमाई खोलाको डाइभर्सन आइतबारको बाढीले बगाएपछि उक्त मार्ग ठप्प भएको छ। यस्तै, इलाम–झापा जोड्ने छोटो दूरीको मेची करिडोर (केचना–कञ्चनजङ्घा सडक) अन्तर्गत पुवा खोलाको डाइभर्सन पनि बाढीले बगाएको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए।
सडक सञ्जाल छिन्नभिन्न भएपछि इलाम सदरमुकामसहित पहाडी जिल्लाहरू पाँचथर र ताप्लेजुङको झापा (तराई) सँगको सीधा यातायात सम्पर्क पूर्ण रूपमा विच्छेद भएको छ। झापातर्फ झर्दै गरेका र झापाबाट पहाडतर्फ जाँदै गरेका ठूलो सङ्ख्याका मालवाहक ट्रक, यात्रुबाहक बस तथा साना सवारीसाधनहरू माइखोलाको दुवै किनारमा अलपत्र परेका छन्। अत्यावश्यक कामका लागि यात्रामा निस्किएका सर्वसाधारणहरू ज्यानको जोखिम मोलेरै भए पनि पहिरो प्रभावित राजदुवाली खण्ड पैदल पार गर्दै गन्तव्यतर्फ लाग्न बाध्य छन्।
सडक डिभिजन इलामका प्रमुख भवन भट्टराईका अनुसार जोगमाई र पुवा खोलामा बेलीब्रिज जडानका लागि डेढ महिनाअघि नै सिभिल संरचना (फाउन्डेसन) तयार पारिसकिएको थियो। तर भारत सरकारले निःशुल्क उपलब्ध गराउने भनिएको बेलीब्रिजको मुख्य सामग्री हालसम्म आइ नपुग्दा डाइभर्सन बगाउनासाथ यातायात ठप्प हुन पुगेको हो। सडक खुलाउन र वैकल्पिक माध्यम खोज्न सडक डिभिजन तथा स्थानीय प्रशासन प्रयासरत रहे पनि अविरल वर्षा र पहिरोका कारण तत्काल सडक सञ्चालनमा ल्याउन कठिन देखिएको छ।