arrow

भानुभक्तको जन्मस्थललाई साहित्यिक र ऐतिहासिक केन्द्र बनाउनुपर्नेमा राष्ट्रपति पौडेलको जोड

logo
हाम्रा कुरा
प्रकाशित २०८३ असार २९ सोमबार
ramchandra-poudel-11-12.jpg

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्तीको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली भाषाप्रेमीहरूमा हार्दिक शुभकामना व्यक्त गरेका छन्।

राष्ट्रपति पौडेलले एक शुभकामना सन्देश जारी गर्दै नेपाली भाषा, साहित्य र संस्कृतिको विकास एवं संवर्द्धनमा आदिकवि भानुभक्तले पुर्‍याएको ऐतिहासिक योगदानको उच्च स्मरण गरेका छन्। उनले भानुभक्तको साहित्यिक साधनाले नेपाली भाषालाई आम जनताको भाषाका रूपमा स्थापित गर्न जग बसालेको उल्लेख गरेका छन्।

तनहुँको चुँदीरम्घामा विसं १८७१ असार २९ गते पिता धनञ्जय आचार्य र माता धर्मावतीदेवीका सुपुत्रका रूपमा जन्मिएका भानुभक्त आचार्यलाई नेपाली साहित्यको प्राथमिक कालका प्रतिनिधि कविका रूपमा स्मरण गर्दै राष्ट्रपति पौडेलले उनको साहित्यिक ओजको चर्चा गरे। संस्कृत भाषामा रचित वाल्मीकि रामायणलाई सरल, शिष्ट, र रोचक शैलीमा नेपाली भाषामा अनुवाद गरेर भानुभक्तले नेपाली साहित्यको जग बलियो बनाएको उनको भनाइ छ।

राष्ट्रपति पौडेलले भानुभक्तीय रामायणले हिमाल, पहाड र तराईमा छरिएर रहेका सम्पूर्ण नेपालीहरूबीच बलियो भावनात्मक एकता कायम गर्न तथा तत्कालीन समाजमा जनचेतना अभिवृद्धि गर्न दूरगामी भूमिका खेलेको स्पष्ट पारे। नेपालीभाषी समुदायबीच भाषिक एकीकरण गराउन भानुभक्तको योगदान अतुलनीय रहेको सन्देशमा उल्लेख छ।

आदिकवि भानुभक्त आचार्यको जन्मस्थल चुँदीरम्घालाई एउटा जीवन्त साहित्यिक, ऐतिहासिक तथा सांस्कृतिक पर्यटकीय स्थलका रूपमा विकास गर्न सके मात्र उनीप्रति सच्चा सम्मान हुने राष्ट्रपति पौडेलले बताएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ