अनुदान र प्रविधिले फेरियो किसानको जीवन, व्यावसायिक मकै खेतीबाट बढ्यो आम्दानी
हाम्रा कुरा
प्रकाशित २०८३ असार २७ शनिबार
277
Shares
इलाम । केही वर्षअघिसम्म घरायसी उपभोगका लागि मात्रै मकै खेती गर्ने इलामको चुलाचुली गाउँपालिकाका किसान अहिले व्यावसायिक उत्पादनतर्फ आकर्षित भएका छन्। स्थानीय सरकारको अनुदान, उन्नत बीउ र प्राविधिक सहयोगका कारण मकैखेती किसानको भरपर्दो आम्दानीको स्रोत बन्दै गएको हो।
चुलाचुली-४ का किसान अशोक राईले गाउँपालिकाबाट उन्नत जातको बीउ पाएपछि आठ कट्ठा जमिनमा व्यावसायिक मकैखेती शुरू गरेका छन्। उनी भन्छन्, "पहिला घरखर्चका लागि मात्रै मकै लगाउँथ्यौं, अहिले यसबाट राम्रो आम्दानी हुन थालेको छ।"
गाउँपालिकाले सञ्चालन गरेको कृषि जोन कार्यक्रम अन्तर्गत आर्थिक वर्ष २०८२/८३ मा ५० प्रतिशत लागत साझेदारीमा 'टिएक्स-३६९' हाइब्रिड मकैको बीउ वितरण गरेको थियो। यस कार्यक्रमबाट ७०० किसान लाभान्वित भएका छन्।
कृषि विकास शाखाका प्रमुख सुवास दाहालका अनुसार किसानलाई कुल छ हजार ४५६ किलोग्राम मकैको बीउ वितरण गरिएको छ। यसका लागि ४१ लाख ९६ हजार ४०० रुपैयाँ बराबरको कार्यक्रम सञ्चालन गरिएको थियो, जसमध्ये आधा रकम गाउँपालिकाले अनुदान दिएको हो।
हाल चुलाचुलीमा १०७ हेक्टर क्षेत्रफलमा व्यावसायिक मकैखेती भइरहेको छ। यहाँबाट वार्षिक करिब २४२ मेट्रिक टन मकै उत्पादन हुने गरेको कृषि शाखाले जनाएको छ।
बीउ वितरणसँगै किसानलाई प्राविधिक परामर्श, तालिम, कृषि सामग्री तथा यान्त्रीकरणमा पनि सहयोग गरिँदै आएको दाहालले बताए। यसले उत्पादन लागत घट्नुका साथै उत्पादकत्व बढाउन मद्दत पुगेको छ।
चुलाचुली-४ कै किसान टिके बुङक्षेन राईका अनुसार मकै अहिले परिवारको मुख्य आयस्रोत बनेको छ। मकै बिक्रीबाट आएको आम्दानीले घरखर्च सञ्चालन र छोराछोरीको शिक्षामा ठूलो सहयोग पुगेको उनले बताए।
व्यावसायिक खेती विस्तारसँगै गाउँका बाँझो जमिन पुनः खेतीयोग्य बनेका छन्। खेतबारी हराभरा मकैले ढाकिएका छन् भने वैदेशिक रोजगारीबाट फर्किएका केही युवासमेत कृषि व्यवसायमा आकर्षित हुन थालेका छन्।
किसान उपेन्द्र पौड्यालका अनुसार उत्पादन भएको मकै खरिद गर्न व्यापारी गाउँमै आउने भएकाले बजारको समस्या छैन। यहाँ उत्पादित मकै झापा, मोरङ र सुनसरीलगायतका जिल्लामा बिक्री हुने गरेको छ। पशुपालन विस्तारसँगै दाना उद्योगबाट पनि मकैको माग बढिरहेको छ।
गाउँपालिकाले मकैसँगै आलु, अदुवा, बेसार, तरकारी तथा फलफूल खेतीलाई पनि प्राथमिकतामा राखेको छ। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमअन्तर्गत आलु तथा अदुवा-बेसार पकेट कार्यक्रम सञ्चालन गर्नुका साथै कृषि सामग्री र आधुनिक उपकरणमा पनि ५० प्रतिशत अनुदान उपलब्ध गराइएको छ।
गाउँपालिका अध्यक्ष राजेन्द्र केरुङले कृषि उत्पादन वृद्धि, किसानको आयआर्जन विस्तार र स्थानीय अर्थतन्त्र सुदृढ बनाउन आगामी वर्षहरूमा पनि कृषि अनुदान तथा प्रविधिमैत्री कार्यक्रमलाई थप प्रभावकारी बनाइने बताए।
अनुदान, आधुनिक प्रविधि, सुनिश्चित बजार र किसानको बढ्दो आत्मविश्वासका कारण चुलाचुली गाउँपालिका अहिले निर्वाहमुखी खेतीबाट व्यावसायिक कृषितर्फ रूपान्तरण हुँदै गएको उदाहरण बनेको छ। रासस