निर्माण क्षेत्रका समस्या समाधानमा सरकार सकारात्मक रहेको प्रधानमन्त्री बालेनको भनाइ
हाम्रा कुरा
प्रकाशित २०८३ असार २५ बिहिबार
275
Shares
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र साह बालेनले निर्माण क्षेत्रका समस्या समाधान गर्न सरकार सकारात्मक रहेको बताएका छन्। बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा नेपाल निर्माण व्यवसायी महासंघका पदाधिकारीसँग भएको छलफलमा उनले निर्माण क्षेत्र आर्थिक विकास, रोजगारी सिर्जना र पूर्वाधार निर्माणको मेरुदण्ड भएकाले व्यावहारिक समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताए।
प्रधानमन्त्री साहले विकास आयोजना समयमै सम्पन्न गर्न तथा निर्माण व्यवसायलाई पारदर्शी, मर्यादित र जिम्मेवार बनाउन सरकार, निजी क्षेत्र र सरोकारवालाबीच प्रभावकारी सहकार्य आवश्यक रहेको उल्लेख गरे।
छलफलमा महासंघका अध्यक्ष निकोलश पाण्डे लगायतका पदाधिकारीले भुक्तानीमा ढिलाइ, ठेक्का व्यवस्थापन, म्याद थप, मूल्य समायोजन, सार्वजनिक खरिद ऐन संशोधन, निर्माण सामग्रीको उपलब्धता र बैंकिङ लगानीसम्बन्धी समस्या प्रधानमन्त्रीसमक्ष राखेका थिए। महासंघले सुधारका लागि लिखित सुझावसमेत बुझाएको छ।
छलफलपछि महासंघका महासचिव शिवहरि घिमिरेले प्रधानमन्त्री निर्माण क्षेत्रका समस्याप्रति गम्भीर र सकारात्मक रहेको बताए।
उनका अनुसार रुग्ण आयोजनाको समस्या समाधानका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयकै नेतृत्वमा विशेष अध्ययन गरिने तथा मूल्य समायोजनका लागि आवश्यक बजेट व्यवस्थापनमा अर्थ मन्त्रालयसँग समन्वय गर्ने प्रतिबद्धता प्रधानमन्त्रीले जनाएका छन्।