लोकतन्त्र, गणतन्त्र र संघीयतामाथि प्रश्न उठाउने संशोधन स्वीकार्य छैन [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८३ असार २५ बिहिबार
168
Shares
काठमाडौँ। प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद प्रमेशकुमार हमालले सरकारले गठन गरेको संविधान संशोधन बहसपत्र तयारी कार्यदलबाट आफ्नो पार्टी अलग भएको स्पष्ट पारेका छन्।
संविधानका आधारभूत मूल्य र मान्यतामाथि नै प्रश्न उठाउने प्रक्रियामा सहभागी हुन नसकिने उनको भनाइ छ।
बिहीबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै सांसद हमालले लोकतन्त्र, गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समतामूलक सहभागिता तथा संविधानमा सुनिश्चित मौलिक अधिकारजस्ता विषयमा प्रश्न उठाउने गरी संविधान संशोधनको बहस अघि बढाउन खोजिएको आरोप लगाए।
उनले संविधानको रक्षा गर्ने शपथ खाएर बनेको सरकारले नै संविधानको आधारमाथि प्रहार गर्न खोजेको दाबी गर्दै यस्तो प्रक्रियामा आफ्नो पार्टी सहभागी नहुने स्पष्ट गरे।
हमालले संविधान संशोधन आवश्यक नै छैन भन्ने आफ्नो पार्टीको धारणा नरहेको स्पष्ट पार्दै संशोधनको प्रक्रिया राष्ट्रिय सहमतिका आधारमा, पारदर्शी र संविधानको मर्मअनुकूल हुनुपर्नेमा जोड दिए।
उनका अनुसार अहिलेको प्रक्रिया अपारदर्शी, त्रुटिपूर्ण र संविधानको मूल भावना कमजोर बनाउने उद्देश्यबाट अघि बढाइएको देखिएकाले नेकपाले संविधान संशोधन बहसपत्र तयार पार्ने कार्यदलबाट अलग हुने निर्णय गरेको हो।
सांसद हमालले संविधान संशोधनजस्तो संवेदनशील विषयमा सबै राजनीतिक दलबीच राष्ट्रिय सहमति कायम गरेर मात्रै अघि बढ्नुपर्ने धारणा पनि राखे।