लोकप्रियतावाद र अराजकतावादबाट बनेका शक्ति टिक्दैनन् : शंकर पोखरेल
हाम्रा कुरा
प्रकाशित २०८३ असार २५ बिहिबार
133
Shares
काठमाडौँ। नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपालको पछिल्लो राजनीतिक परिवर्तन आर्थिक-सामाजिक असन्तोषको परिणाम भएको बताएका छन्।
उनले लोकप्रियतावाद, अवसरवाद र अराजकतावादको आधारमा स्थापित भएका राजनीतिक शक्तिहरू दीर्घकालसम्म टिक्न नसक्ने दाबी गरेका छन्।
सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै पोखरेलले पछिल्ला वर्षहरूमा पूर्वाधार विकास, सामाजिक सुरक्षा र वैदेशिक रोजगारीका कारण नागरिकको जीवनस्तरमा सुधार आए पनि सोही अनुपातमा आर्थिक वृद्धि र वैधानिक आम्दानी बढ्न नसक्दा समाजमा असन्तोष चुलिएको उल्लेख गरेका छन्।
उनका अनुसार जीवनस्तर र आम्दानीबीचको असन्तुलनले निराशा बढाएको छ। उपभोग क्षमता बढे पनि त्यसलाई धान्ने आय नबढ्दा भ्रष्टाचार, कालोबजारी, अपराधीकरण, पैतृक सम्पत्तिको क्षय तथा वैदेशिक पलायनजस्ता समस्या थप गहिरिँदै गएको उनले बताएका छन्।
राज्यले नागरिकका यी समस्या समयमै सम्बोधन गर्न नसक्दा पुराना राजनीतिक दलप्रति जनविश्वास कमजोर बन्दै गएको पोखरेलको भनाइ छ।
उनले आम निर्वाचन २०८२ मा मूलधारका दलहरूले विकास, देशभक्ति र सामाजिक सुरक्षाका मुद्दा उठाए पनि जनअपेक्षा पूरा गर्न नसक्दा वैकल्पिक शक्तिहरूले जनसमर्थन प्राप्त गरेको विश्लेषण गरेका छन्।
भ्रष्टाचार नियन्त्रण, सुशासन र रोजगारीका एजेन्डाले नयाँ राजनीतिक शक्तिलाई बल पुर्याएको उल्लेख गर्दै उनले सामाजिक सञ्जालको प्रभावकारी प्रयोगले पनि उनीहरूको पक्षमा जनमत निर्माण गर्न सहयोग पुगेको बताए। पुराना दलहरूले त्यसको प्रभावकारी प्रतिवाद गर्न नसकेको उनको भनाइ छ।
महासचिव पोखरेलले नेपालको पछिल्लो राजनीतिक परिवर्तनमा भूराजनीतिक प्रभावसमेत रहेको दाबी गरेका छन्। उनले पुराना दलविरुद्ध र नयाँ शक्तिको पक्षमा बाह्य चलखेल भएको आरोप लगाउँदै जेन्जी अभियानका नाममा भएका प्रदर्शनलाई भिडन्तमा रूपान्तरण गरी जनआक्रोश बढाइएको उल्लेख गरेका छन्।
उनले वर्तमान सरकारले लोकतान्त्रिक र संवैधानिक प्रक्रियाभन्दा स्वेच्छाचारी र अधिनायकवादी शैली अपनाउन खोजेको आरोपसमेत लगाएका छन्।
लोकतान्त्रिक आन्दोलनबाट परिपक्व बनेको नेपाली समाजले यस्तो अभ्यास लामो समय स्वीकार नगर्ने उनको निष्कर्ष छ।