खाडी क्षेत्रको सैन्य मुठभेडप्रति राष्ट्रसंघका महासचिवको चिन्ता
अमेरिका र इरानलाई वार्तामा फर्किन आग्रह
हाम्रा कुरा
प्रकाशित २०८३ असार २५ बिहिबार
357
Shares
काठमाडौँ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले खाडी क्षेत्रमा पुनः सुरु भएको सैन्य मुठभेडप्रति गहिरो चिन्ता व्यक्त गरेका छन्।
पछिल्लो समय विकसित घटनाक्रमले इरान र अमेरिकाबीच भइरहेको कूटनीतिक प्रगतिलाई धरापमा पार्न सक्ने भन्दै उनले सचेत गराएका हुन्।
महासचिवका प्रवक्ता स्टेफन दुजारिकले बुधवार आयोजित नियमित पत्रकार सम्मेलनमा महासचिवको तर्फबाट उक्त चासो र चिन्ता व्यक्त गरेका हुन्।
प्रवक्ता दुजारिकका अनुसार पछिल्लो २४ घण्टामा देखिएका सैन्य गतिविधिहरूले दुई देशबीचको कूटनीतिक संवादमा गम्भीर अवरोध सिर्जना गर्ने जोखिम बढाएको छ।
महासचिव गुटेरेसले सम्बद्ध सबै पक्षलाई अधिकतम संयम अपनाउन, तनाव बढाउने कुनै पनि थप क्रियाकलापबाट टाढै रहन र परिस्थितिलाई सामान्य बनाउन तत्काल कदम चाल्न आह्वान गरेका छन्।
यसका साथै उनले अन्तर्राष्ट्रिय कानुनको पूर्ण पालना गर्न, सर्वसाधारण र नागरिक पूर्वाधारको सुरक्षा सुनिश्चित गर्न तथा जलयात्राको अधिकार र स्वतन्त्रताको सम्मान गर्नसमेत सबै पक्षलाई स्मरण गराएका छन्।
महासचिवले इरान र अमेरिकालाई यथाशीघ्र वार्ताको प्रक्रियामा फर्किन र कूटनीतिक माध्यमबाट थाती रहेका विवादित विषयहरूलाई सम्बोधन गर्न जोडदार आग्रह गरेका छन्।
सम्भावित द्वन्द्व रोक्न, क्षेत्रीय स्थिरता कायम गर्न र यस समस्याको दिगो तथा व्यापक समाधानका लागि गरिने हरेक प्रयासमा सहयोग पुर्याउन संयुक्त राष्ट्रसङ्घ पूर्ण रूपमा प्रतिबद्ध रहेको समेत प्रवक्ता दुजारिकले स्पष्ट पारेका छन्।