देशैभर मनसुनी प्रणाली सक्रिय, केही ठाउँमा भारी वर्षा, बुधबार कास्कीमा भारी वर्षा, कहाँ कति ?
हाम्रा कुरा
प्रकाशित २०८३ असार २५ बिहिबार
454
Shares
काठमाडौँ । आज वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागको एक–दुई स्थानमा भारी वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू–भागका केही स्थानमा हावाहुरीको सम्भावना छ । अन्य क्षेत्रमा भने बदली र मध्यम वर्षा हुने जनाइएको छ ।
मनसुनी प्रणाली सक्रिय भएपछि बुधबार सातै प्रदेशमा मौसम बदली भई वर्षा भएको छ । विवरणअनुसार कास्कीमा भारी वर्षा (१०२ मिलिमिटर) भएको छ । यस्तै, अन्य स्थानमा समेत भारी वर्षा भएको छ ।
जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद् मीनकुमार अर्यालले ठाउँठाउँमा भारी वर्षा भएको जानकारी दिए । वर्षामापन केन्द्रको विवरणअनुसार सङ्खुवासभामा ६३ दशमलव चार, दोलखामा ५१, सिन्धुपाल्चोकमा ६८, म्याग्दीमा ६२, अर्घाखाँचीमा ५३ मिलिमिटर वर्षा भएको छ । यस्तै, कास्कीको एक मापन केन्द्रमा धेरै भारी वर्षा मापन भएको छ भने अन्य तीन मापन केन्द्रमा अधिक वर्षा भएको छ ।
यस्तै, जाजरकोटमा ५७ दशमलव छ, अछाममा ६६, डोटीमा ७८ मिलिमिटर वर्षा भएको छ । ५० देखि १०० मिलिमिटरको वर्षालाई भारी वर्षामा गणना गरिन्छ भने १०० भन्दा माथि २०० मिलिमिटरसम्मको वर्षालाई धेरै भारी वर्षामा मापन गरिन्छ ।
चितवन, उदयपुर, पाल्पा, सङ्खुवासभा, सल्यानलगायत जिल्लामा भारी नजिक वर्षा भएको छ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी र पश्चिमी भू–भागतर्फ नै सरदर स्थानको आसपास अवस्थित छ ।
विभागले बुधबार साँझ जारी गरेको बुलेटिनअनुसार राति कोशी, वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागको थोरै स्थानमा भारी वर्षा र कोशी तथा गण्डकी प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना औँल्याएको थियो ।