काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले घटेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ३० दशमलव ०९ अङ्कले ओरालो लागेर २,६२१ दशमलव ५९ मा पुगेको छ।
ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक तीन दशमलव ९२ अङ्कले ओरालो लागेर ४५६ दशमलव ६८ मा पुगेको छ भने फ्लोट सूचक दुई दशमलव ०६ अङ्कले घटेर १७९ दशमलव ८९ मा पुगेको छ। त्यस्तै, सेन्सेटिभ फ्लोट सूचक पनि एक दशमलव ४२ अङ्कले घटेर १५४ दशमलव ५८ मा पुगेको छ।
बजारमा आज विभिन्न कम्पनीका ८४ लाख ६३ हजार १५ कित्ता सेयर रु ४ अर्ब ८२ करोड ६० लाख ८४ हजार ८२५ मूल्यमा खरिद बिक्री भएको छ। आज कारोबार भएका कुल १३ वटै उपसमूहमध्ये १२ वटा उपसमूह घटेका छन् भने केवल एक उपसमूह मात्र बढेको छ। कुल कम्पनीमध्ये २५ कम्पनीको सेयर मूल्य बढ्दा २४७ कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ।
नेप्सेका अनुसार आज सिटिजन बैंक डिबेञ्चर, एनएमबी डिबेञ्चर र प्रभु बैंक डिबेञ्चरका लगानीकर्ताहरूले कमाएका छन्। अर्कातर्फ, कर्पोरेट डेभलपमेन्ट बैंक, उपकार लघुवित्त वित्तीय संस्था र सानीगाढ हाइड्रोपावर कम्पनीका लगानीकर्ताहरूले भने गुमाएका छन्।