arrow

सांसद राईको विवादपछि रोकिएको संसद् चालु [लाइभ]

प्रतिनिधि सभामा विधेयक र प्रतिवेदनहरू पेस गरिँदै

logo
हाम्रा कुरा
प्रकाशित २०८३ असार २४ बुधबार

काठमाडौँ । नेकपा एमालेका सांसद राजेन्द्र कुमार राईको आपत्तिजनक अभिव्यक्तिका कारण स्थगित भएको प्रतिनिधि सभाको बैठक पुनः शुरु भएको छ।

बुधबार बसेको बैठकमा आफ्नो भनाइ राख्ने क्रममा सांसद राईले मर्यादा नाघेर बोलेपछि संसद्‌मा केही बेर तनावको स्थिति सिर्जना भएको थियो। उनले सभामुखलाई सिधै सम्बोधन गर्दै, ‘म सभामुखलाई एउटा निवेदन गर्न चाहन्छु, तपाईं कान सुन्नुहुन्छ कि सुन्नुहुन्न?’ भन्दै तिखो प्रश्न गरेपछि विवाद शुरु भएको थियो।

तनाव बढ्दै गएपछि सभामुख डोलप्रसाद अर्यालले उक्त अभद्र अभिव्यक्तिका लागि माफी माग्ने सर्तसहित एमाले सांसद राईलाई पुनः बोल्नका लागि समय दिएका थिए। तर, सांसद राईले माफी माग्नुको साटो आफ्नो कुरा नै नसुनी सभामुखले गलत व्यवहार गरेको आरोप लगाए।

उनले थप आक्रोशित हुँदै 'सभामुख अर्यालले ५ वर्षसम्म संसद् चलाउने ढाँचा नल्याएको' भन्दै फेरि कडा आलोचना गरेपछि संसद्‌मा हंगामा मच्चिएको थियो। सांसद राईले लगातार संसद्को मर्यादा विपरीत सभामुखको आलोचना गरेपछि तत्कालै सभामुख अर्यालले बैठक १५ मिनेटका लागि स्थगित गर्ने निर्णय गरेका थिए। सो समय सीमा सकिएसँगै अहिले संसद्को कार्यसूची अगाडि बढाउन बैठक पुनः चालु गरिएको हो।

आजको बैठकमा प्रधानमन्त्री वालेन्द्र साहको तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन २०८१/०८२ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पैँतीसौँ वार्षिक प्रतिवेदन २०८१/०८२ संसद्‌मा पेस गर्ने कार्यसूची रहेको छ।

व्यवस्थापन कार्यअन्तर्गत प्रधानमन्त्रीकै तर्फबाट कानूनमन्त्री गौतमले 'राष्ट्रिय सेवा दल विधेयक, २०८३' प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्नेछिन् भने त्यसलगत्तै विधेयक सदनमा प्रस्तुत गरिने कार्यक्रम छ। यसका साथै बैठकमा 'नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउने सम्बन्धी विधेयक, २०८३' माथि विचार गरियोस् भन्ने प्रस्ताव समेत प्रस्तुत गरिनेछ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले 'नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक, २०८३' लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

त्यस्तै, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडक राज पौडेलले राष्ट्रिय सभाबाट उत्पत्ति भएको 'पर्यटन विधेयक, २०८२' लाई समेत दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव संसद्‌मा प्रस्तुत गर्ने संसद् सचिवालयले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ