मौसमको प्रतिकूलताले धान रोपाइँ प्रभावित: मधेस प्रदेश सबैभन्दा पछाडि
हाम्रा कुरा
प्रकाशित २०८३ असार २३ मंगलबार
391
Shares
काठमाडौँ । यसवर्ष समयमै मनसुन सक्रिय नहुँदा देशभरको धान रोपाइँमा उल्लेख्य मन्दी आएको छ। कृषि विभागको तथ्याङ्कअनुसार गत वर्ष यस अवधिसम्म ४५ प्रतिशत रोपाइँ भइसकेकामा यस वर्ष जम्मा ३२.३८ प्रतिशत मात्र रोपाइँ भएको छ, जुन गत वर्षको तुलनामा १२.६२ प्रतिशतले कमी हो।
नेपालमा धान खेती हुने कुल १३ लाख ७० हजार ६२ हेक्टर क्षेत्रफलमध्ये सोमबारसम्म देशभर ४ लाख ४३ हजार ५९५ हेक्टरमा मात्र रोपाइँ सकिएको कृषि विभागका महानिर्देशक प्रकाशकुमार सञ्जेलले जानकारी दिए ।
प्रदेशगत रूपमा हेर्दा हालसम्म सुदूरपश्चिममा ५७.९ प्रतिशत, गण्डकीमा ४१ प्रतिशत, कर्णालीमा ४०.५ प्रतिशत, लुम्बिनीमा ३७.३ प्रतिशत, बागमतीमा ३३.२ प्रतिशत र कोशी प्रदेशमा ३१.५ प्रतिशत रोपाइँ सम्पन्न भएको छ ।
सबैभन्दा निराशाजनक अवस्था राष्ट्रिय धान उत्पादनमा ७० प्रतिशत योगदान दिने तराईको मधेस प्रदेशमा देखिएको छ, जहाँ हालसम्म जम्मा १५.६ प्रतिशत मात्र रोपाइँ हुन सकेको छ। मुख्य धान उत्पादन क्षेत्रमै रोपाइँ प्रभावित भएकाले यस वर्ष धानको कुल उत्पादनमा कमी आउने प्रक्षेपण विभागले गरेको छ। यद्यपि, पछिल्लो समय देशका अधिकांश भूभागमा वर्षा सुरु भएकाले अब रोपाइँको गतिमा केही सुधार आउने विश्वास गरिएको छ।