सय दिनमै लोकतन्त्र र संसदीय प्रक्रियामाथि प्रहार भयो [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८३ असार २२ सोमबार
152
Shares
काठमाडौँ। नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले सरकार गठनको सय दिनको अवधिमा लोकतान्त्रिक मूल्य-मान्यता, विधि र संसदीय प्रक्रियामाथि निरन्तर हस्तक्षेप भएको आरोप लगाएका छन्।
सोमबार सिंहदरबारस्थित संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै सांसद केसीले लोकतन्त्र परिणाममा मात्र सीमित नहुने भन्दै प्रक्रिया पनि लोकतान्त्रिक, विधिसम्मत र पद्धतिसम्मत हुनुपर्ने बताए।
उनले लोकतन्त्र परिणाम, विधि, पद्धति र प्रक्रियाको संयुक्त स्वरूप भएको उल्लेख गर्दै सरकार गठनको सय दिनभित्र ती आधारभूत मान्यतामाथि निरन्तर प्रहार भएको महसुस भएको बताए।
प्रधानमन्त्रीले संसद्मा दिएको अभिव्यक्ति सरकारको आधिकारिक धारणा हुने भएकाले त्यसबारे उठेका प्रश्नको जवाफ दिने दायित्व पनि प्रधानमन्त्रीकै भएको केसीले बताए।
उनले प्रधानमन्त्रीको अभिव्यक्तिबारे पाँच सातादेखि संसद्मा प्रश्न उठिरहेको भए पनि अहिलेसम्म स्पष्ट जवाफ नआएको उल्लेख गर्दै आवश्यक परे उक्त अभिव्यक्ति फिर्ता लिन, सच्याउन वा आफ्नो आशय स्पष्ट पार्नुपर्ने धारणा राखे।
सांसद केसीले संसद्को सम्मान र भूमिकालाई कमजोर बनाउने प्रयास भइरहेको आरोप लगाउँदै संसद् प्रतिपक्षको मात्र नभई सभामुख, सत्तापक्ष र प्रतिपक्ष सबैको साझा संस्था भएको बताए।
संसद् सरकार गठन गर्ने मात्र नभई सरकारलाई निर्देशन दिने सर्वोच्च लोकतान्त्रिक संस्था भएकाले त्यसको भूमिका र गरिमाको उपेक्षा हुनु गम्भीर विषय भएको उनको भनाइ थियो।