काठमाडौँ । संघीय संसद् भवन सिंहदरबारमा प्रतिनिधि सभाको बैठक जारी रहेको छ। आजको बैठकका लागि संसद् सचिवालयले तय गरेको कार्यसूचीअनुसार विभिन्न महत्त्वपूर्ण विधेयकहरू प्रस्तुत गर्ने र दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने कार्य अघि बढाइएको छ।
आजको बैठकमा प्रधानमन्त्री वालेन्द्र साहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले ‘नेपाल विशेष सेवा ऐन, २०4२ को साविकको व्यवस्था जगाउने सम्बन्धी विधेयक, २०८३’ लाई सदनमा प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव पेस गर्ने कार्यसूची रहेको छ। उक्त प्रस्ताव स्वीकृत भएलगत्तै मन्त्री गौतमले सो विधेयक संसद्मा प्रस्तुत गर्नेछिन्।
यसैगरी, वित्तीय क्षेत्रको सुधार र नियमनसँग जोडिएको महत्त्वपूर्ण ‘नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक, २०८३’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बैठकमा प्रस्तुत गर्ने कार्यसूची छ।
बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेलले राष्ट्रिय सभामा उत्पत्ति भएको ‘अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८३ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।
यस्तै, युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले अन्तर्राष्ट्रिय श्रम अभ्याससँग सम्बन्धित दुईवटा महत्त्वपूर्ण महासन्धिहरूमाथि सदनमा विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ। उनले ‘अन्तर्राष्ट्रिय श्रम संगठन (ILO) को बाध्यकारी श्रम महासन्धि १९३० सम्बन्धी सन् २०१४ को प्रोटोकल नं. २९’ र ‘अन्तर्राष्ट्रिय श्रम संगठनको श्रम निरीक्षण सम्बन्धी महासन्धि, १९४७ (नं. ८१)’ माथि विचार गरियोस् भन्ने प्रस्ताव संसद्मा पेस गर्नेछन्।