प्रतिनिधि सभा बैठक बस्दै: विशेष सेवा ऐन ब्युँताउने लगायत यस्तो छ कार्यसूची
राष्ट्र बैंक संशोधन विधेयक समितिमा पठाइँदै
हाम्रा कुरा
प्रकाशित २०८३ असार २२ सोमबार
428
Shares
काठमाडौँ । प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजे संघीय संसद् भवन सिंहदरबारमा बस्दै छ। आजको बैठकका लागि संसद् सचिवालयले सम्भावित कार्यसूची सार्वजनिक गरेको छ, जसमा विभिन्न महत्त्वपूर्ण विधेयकहरू प्रस्तुत गर्ने र दफावार छलफलका लागि समितिमा पठाउने कार्यक्रम रहेको छ।
आजको बैठकमा प्रधानमन्त्री वालेन्द्र साहको तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउने सम्बन्धी विधेयक, २०८३’ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव पेस गर्ने कार्यसूची छ। अनुमति पाएलगत्तै मन्त्री गौतमले उक्त विधेयक संसद्मा प्रस्तुत गर्नेछिन्।
यसैगरी अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक, २०८३ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ। बैंकिङ क्षेत्र र वित्तीय सुधारका दृष्टिले यो विधेयकलाई निकै चासोका साथ हेरिएको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेलले राष्ट्रिय सभामा उत्पत्ति भएको ‘अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८३ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।
बैठकमा युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले दुईवटा महत्त्वपूर्ण अन्तर्राष्ट्रिय महासन्धिमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ। उनले ‘अन्तर्राष्ट्रिय श्रम संगठन को बाध्यकारी श्रम महासन्धि १९३० सम्बन्धी सन् २०१४ को प्रोटोकल नं. २९’ र ‘अन्तर्राष्ट्रिय श्रम संगठनको श्रम निरीक्षण सम्बन्धी महासन्धि, १९४७ (नं. ८१)’ माथि सदनमा विचार गरियोस् भन्ने प्रस्ताव पेस गर्नेछन्।